समिक्षक तथा दर्शकबाट आलोचना खेपेको फिल्म 'पुरानो डुङ्गा'को विजनेसमा निरन्तर डाउन आएको छ । रिलिजको पहिलो दिन तथा शनिबार आक्रामक देखिएको फिल्मको नेगेटिफ 'वर्ड अफ माउफ' का कारण आईतबारबाट नै विजनेसमा ह्वात्तै डाउन आएको थियो ।
राजधानीका एक हल सञ्जालकले फिल्मीखबरसँग भने, 'फिल्म हेर्ने १० जना दर्शकमा ७ जनाले गाली गर्दै निस्केका छन्, माउथ पब्लिसिटी राम्रो नआएपछि प्रत्येक दोश्रो शो मा दर्शकको चाप घटिरहेको छ।' फिल्मको खराब प्रदर्शन जारी रहँदा आशा गरिएका निर्देशक रामबाबु गुरुङको काममाथी धेरैले निराश मुद्रामा जिब्रो टोकिरहेका छन् ।
तर फिल्मले आलोचना पाईरहँदा दुई कलाकार माओत्से गुरुङ र मेनका प्रधानको कामको तारिफ नगर्ने कोहि भेटिएका छैनन् ।
उता तेश्रो हप्तामा प्रदर्शनरत फिल्म 'जात्रा'ले अहिलेसम्म पनि दर्शकको राम्रो साथ पाईरहेको छ । हेर्नेजति सबैको मन जितेको फिल्मप्रतिको समिक्षा तथा हाईपले शो थपिँदो छ भने दिनहुँ दर्शक बढिरहेका छन् । मल्टिप्लेक्समा तुलनात्मक रुपमा दुबै फिल्मले प्राप्त शो लाई मुल्यांकन गर्दा पहिलो हप्ताको 'पुरानो डुङ्गा'को भन्दा तेश्रो हप्तामा चलिरहेको 'जात्रा' अकुपेन्सी माथी छ ।
पहिलो हप्ते प्रदर्शनमा 'पुरानो डुङ्गा'ले ८ शो पाउँदा तेश्रो हप्तामा पनि 'जात्रा'को शो अझै ५ कायम छ ।
यसैबीच सामाजिक सञ्जालमा दर्शक तथा फिल्म सुभचिन्तकबीच स्पष्ट दुई धार देखिँदा 'पुरानो डुङ्गा'लाई लिएर राम्रो र नराम्रोको ठुलो बहस चलिरहेको छ । फिल्मका कलाकार तथा निर्देशकले समेत खुलेर राम्रो काम गरेको दाबी सहित फिल्म समिक्षकहरुका शब्दहरुमाथी नै प्रश्न तेर्साईरहेका छन् ।

