सौगात मल्ल स्टारर फिल्म 'शब्द' आउँदो पौष २९ बाट दर्शकमाझ आउँदैछ । रिलिजको दिन नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसार थालेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको टिजर, पोस्टर तथा गीत सार्वजनिक गरियो ।

कास्की जिल्लाको सिकलेस भन्ने ठाउँमा खिचिएको फिल्मले टिपिकल नेपाली गाउँले परिवेशको कथा बोल्छ । सार्वजनिक प्रचार सामग्रीमा पनि सबैजसो कलाकारलाई गाउँले भेषमा देख्न सकिन्छ ।
सन्तोष शिवाकोटी निर्देशित फिल्ममा सौगातसँगै कमली वाईवा, अनुभव रेग्मी र वसिन भट्टराई लिड अभिनयमा छन् । फिल्ममा राजनराज शिवाकोटी र गैरे सुरेशको संगीत छ । छिरिङ दोर्जे लामा 'शब्द'का निर्माता हुन् ।

