पहिलो फिल्म चलोस् नचलोस्, अन्य सिक्वेल बनोस् या नबनोस्, तर पछिल्लो समय नेपाली फिल्म उद्योगमा सिक्वेल घोषणाको क्रम बढ्दो छ । पहिलो फिल्मको विजनेस सुरु नै नहुँदा समेत सोहि फिल्ममा अन्य सिक्वेल घोषणाको क्रम फेसन जस्तै बनिसकेको छ ।
यो बीचमा अर्को फिल्म थपिएको छ । भोली अर्थात शुक्रबारबाट प्रदर्शनमा आउँदै गरेको फिल्म 'पुरानो पुस्ता'को पनि चार वटासम्म सिक्वेल बनाउने घोषणा निर्माण टिमले गरेको हो ।
रिलिजको छेकोमा राजधानीमा गरिएको एक कार्यक्रममा बोल्दै निर्मातासँग एकस्वर गराएर निर्देशक दीपसागरले 'पुरानो पुस्ता'को चारवटा सम्म सिक्वेल निर्माणको प्रक्रिया चलिसकेको दाबी गरे । उनका अनुसार यो फिल्म चल्दा नचल्दा सिक्वेल निर्माणमा असर पर्नेछैन् । चार सिक्वेलसम्मको लागी निर्माताहरु सबैजना बजेटमा समेत सोचबिचार गरेर अघि बढिरहेको दाबी उनले गरे ।
एक सय बर्ष पुरानो कथामा तयार भएको 'पुरानो पुस्ता' को हरेक सिक्वेलमा पछिल्लो १ सय बर्षमा बिस्तारै आईरहेको परिवर्तनको कथा समेट्ने बताईएको छ । यो फिल्मले भने सय बर्ष पहिलेको समयको नेपाली समाजको मौलिक कथा उठाएको बताईन्छ ।
रोल्पा, प्यूठानमा छायांकन गरिएको फिल्ममा शेरवहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, श्रृष्टी लगायतका कलाकारको अभिनय छ । फिल्मकी निर्मात्री सावित्री ओली हुन् ।

