दुई हप्ता पहिले जस्तो ९५ प्रतिशत छायाँकन सकाईएको फिल्म 'लभ लभ लभ'को अन्तिम गीत छायाँकन गर्दै सुटिङ प्याकअप भएको छ । फिल्मको ईण्ड क्ल्याप सट रसुवाको प्रसिद्ध स्थल गोसाईकुण्डमा गीत खिच्दै लिईयो ।

दिपेन्द्र के खनाल निर्देशित उक्त फिल्मको गीत छायाँकनमा मात्रै १२ लाख रुपैयाँ खर्च भएको निर्माण टिमले दाबी गरेको छ । निर्देशक खनालले नौ दिन लगाएर 'के यो माया हो कि के हो.. ' बोलको गीत खिचिएको बताए ।

त्यसो त आम निर्देशकको भीडमा छुट्टै पहिचान स्थापित गरेका खनालले सकेसम्म राम्रो गरौं भन्ने उद्देश्यकै कारण फिल्मका सबैजसो दृश्य पोखरामा खिचिएता पनि एक गीतका लागी मात्रै गोसाईकुण्ड पुगेको बताए । त्यस्तै फिल्म निर्मात्री शर्मिला पाण्डेले फिल्मलाई स्तरिय बनाउन बजेटमा कुनै कन्जुस्याईं नगरेको दाबी गर्दै एकै गीतमा १२ लाख लगानी गरेको तर्क गरिन् ।

उता फिल्मका प्रोडक्शन डिजाईनर नगेन्द्र घिमिरेले तातो पानीको लागी समेत पैसा तिरेर खानुपर्ने ठाउँमा निकै कष्ट र दुःखका साथ फिल्मको उक्त गीत छायाँकन गरिएको बताए । आफ्नो ३० बर्षे फिल्मी करियरमा यो प्रकारको मेहनत तथा दुःख पहिलो पटक झेल्नुपरेको घिमिरेको दाबि छ ।

फिल्मका प्रस्तुतकर्ता अमृत पाण्डे हुन् । भने स्वस्तिमा खड्का र सुरज पाण्डे लिड अभिनयमा छन् । सुरजको लागी यो फिल्म डेब्यू हुनेछ ।

फिल्मलाइ निरज कंडेलले खिचेका छन् भने संगीत सुरेश राईको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको फिल्म नयाँ बर्षको छेकोमा अर्को बर्षको बैसाख १ गरे रिलिज हुँदैछ ।

