अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को आयोजनामा यहि कार्तिक २४ मा भारतको सिक्किममा हुन गईरहेको चौथो ईनास अवार्डको विवाद उत्कर्षमा पुगेको छ । नेपाल च्याप्टरलाई आयोजक बनाएर ईनासको ग्लोबल समितिको तर्फबाट हुन लागेको अवार्डलाई अन्ततः नेपाल च्याप्टरले नै बहिष्कार घोषणा गरेको छ ।
अवार्डको अन्तर्राष्ट्रिय मुल्य र मान्यतालाई उलंघन गर्दै ग्लोबल समितिले हस्ताक्षेप सहित मनोमानी रुपमा मनोनयन निकालेको तथा आयोजक बनाईएपनि अन्त्यमा आफुहरुसँग कुनै सल्लाह नगरी अघि बढेको भन्दै बहिष्कारको निर्णय गरेको नेपाल अध्यक्ष प्रकाश सुवेदीले बताए । 'नेपाल च्याप्टरको अध्यक्ष म छुँ, मैले नै आफ्नै अवार्डको मनोनयन पत्रिका पढेर थाहा पाउनुपर्छ, नाममात्रको जुरी राख्दै फिल्म नै नहेरी निकालिएको मनोनयन सुचीमा पनि हाम्रो सहमति छैन्, 'सुवेदीले फिल्मीखबरसँग भने ।
त्यसो त अध्यक्ष प्रकाश सुवेदीको नाममा ग्लोबल अध्यक्ष पुष्प बरुवालले आर्थिक पारदर्शिताको तथा हिसाबकिताबको नाममा प्रश्न उठादँदै अनेक आरोप लगाएपछि विवाद बढ्दै गएको श्रोत बताउँछ । अवार्ड हुने दिन आउन तीन दिन मात्र बाँकी हुँदा नेपाल समितिले नै बहिष्कारको निर्णय गर्नुले अवार्ड कस्तो हुने र के हुने नहुने भन्ने बारेमा समेत प्रश्व उब्जेको छ ।
सिक्किम अवार्डमा नेपाल च्याप्टरका कुनै पनि कार्यसमिति पदाधीकारीहरु सहभागी नहुने भन्दै सुवेदीले ईनासको तर्फबाट भविष्यमा कुनैपनि ठाउँमा हुने अवार्डजन्य जुनकुनै कार्यक्रममा समेत नेपाल च्याप्टर सहभागी नहुने समेत निर्णय भएको बताएका छन् । यो बिषयमा ग्लोबल समितिले कुनै पनि धारणा बाहिर ल्याएको छैन् ।
सिक्किममा हुने अवार्डको लागी तुलसी घिमिरेको संयोजकत्वमा नौ सदस्यिय जुरी बनाइएपनि फिल्म नै नहेरी तथा त्यो पनि मनोनयनको फारम समेत नभरी प्रतिस्पर्धीको सुची आउट गरेको समेत भेटिएको छ भने अर्को तर्फ सुरुमा उत्कृष्ट पाँचको मनोनयन निकालेर त्यसपछि बल्ल उत्कृष्ट तीन'को मनोनयन निकाल्ने भनिए पनि अवार्ड हुन चार दिम मात्र बाँकी हुँदा सिधा मिडिया मार्फत उत्कृष्ट तीनको प्रतिस्पर्धा विधा सार्वजनिक गरिएको छ ।
सिक्किम अवार्डमा कलाकार तथा पत्रकार सहितको सय बढि फिल्मकर्मीको टोली पुग्ने बताईएको छ ।

