बिहिबार एकै दिनमा दुई नेपाली फिल्मको प्रिमियर सम्पन्न भयो । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'राधा' र अर्को हप्ता प्रदर्शन हुने फिल्म 'दि विनर'ले एकै दिन दिउँसो र साँझ गरेर प्रिमियर सकाए ।

'राधा'
सिटी सेन्टर स्थित विग मुभिजमा दिउँसो आयोजित प्रिमियरमा फिल्मका कलाकार जीवन र सञ्चिता उपस्थित सबैको आकर्षण बने । लामो समयपछि लिड अभिनयमा 'राधा' मार्फत कमब्याक गरेकी सञ्चिता तश्विर खिचाउने तथा बधाई र शुभकामना दिनेहरुको बाक्लो भीड थियो ।

योगेश घिमिरे निर्देशित फिल्मले प्रिमियरपछि दर्शक तथा फिल्मकर्मीबाट मिश्रित प्रतिक्रिया पाएको छ । फेमिली ड्रामालाई अनि सञ्चिताको अभिनयमा धेरैले तारिफ पनि गरे ।

'दि विनर'
यस्तै कार्तिक १९ अर्थात अर्को हप्ता मात्रै प्रदर्शनमा आउने फिल्म 'दि विनर'ले यो हप्ता नै प्रिमियर गर्यो । राजधानीको कुमारी हलमा आयोजित भब्य रेड कार्पेट प्रिमियरमा फिल्मकर्मी, रंगकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिती थियो ।

अष्ट्रेलिया, दुबई र नेपाल तीन ठाउँमा खिचिएको फिल्मले उद्देश्यप्राप्तिको कथा बोल्छ । हिक्मत बिष्टले फिल्म निर्देशन गरेका छन् भने फिल्ममा मलिना जोशी, महेश श्रेष्ठ, मञ्चिन श्रेष्ठ लिड अभिनयमा छन् ।

प्रिमियरपछि यो फिल्मले पनि मिश्रित प्रतिक्रिया दर्शकबाट पायो । 'रिच प्रोपर्टी' अनि विदेशका आकर्षक दृश्य दर्शकलाई 'वाउ' लाग्ने हुनसक्छन् ।

तश्विरः महेश्वरमान सिंह (फिल्मीखबर)

