फ्राईढे रिलिज अन्तर्गत यो हप्ता दुई नेपाली फिल्म प्रदर्शनमा आए । दशैंको छेकोमा प्रदर्शनमा आएका दुई फिल्म हुन् छबिराज प्रोडक्शनको 'किस्मत २' र राजु अधिकारी निर्देशित 'सुब्बा साब' ।

छक्का पञ्जा को कमेडी माहोलले गर्माएको समयमा पर्दामा आएका दुई फिल्मलाई हल व्यवस्थापनमा समस्याको चर्चा चले पनि दुबै सिंगल थियटर लक्षित भएको कारण कम असर देखियो । जहाँ 'किस्मत २' ले एकलौटी जस्तो हल पाउँदा 'सुब्बा साब' भने कम हलमा मात्र प्रदर्शनमा आएको छ ।
निकै चर्चा अनि कन्ट्रोभर्सीका बीच प्रदर्शनमा आएको 'किस्मत २'को ओपनिङ डे अकुपेन्सी ४५ देखी ५० प्तरिशतको बीचमा छ । तुलनात्मक रुपमा पहिलो दिनको विजनेस अकुपेन्सी राम्रो पाईएको छ । शिल्पा पोखरेल, पृथ्वीराज र किशोर खतिवडा अभिनयमा रहेको ऋषि लामिछाने निर्देशित फिल्मले पहिलो दिनको विजनेसलाई नियाल्दा शनिबार दर्शकको साथ राम्रो पाउने अनुमान फिल्म पण्डितहरुको छ ।
उता सरोज खनाल, गौरी मल्ल, जीवन लुईंटेल, बर्षा शिवाकोटी लिड अभिनयमा रहेको 'सुब्बा साब' को ओपनिङ अकुपेन्सी ३० देखी ३५ प्रतिशतको बीचमा पाईएको छ । नाम चलेका कलाकारहरुको बाहुल्यता रहेको फिल्मको ओपनिङ विकेण्ड कस्तो रहने भन्ने शनिबारको विजनेसले निर्धारण गर्नेछ ।
* (फिल्मीखबरले हल सञ्चालक तथा वितरकहरुबाट प्राप्त तथ्यांकलाई आधार मानेर यो रिपोर्ट तयार गरेको हो । यकिन व्यापारिक रिपोर्ट दुबै फिल्मको प्राप्त छैन् ।)

