अभिनेता दयाहाङ राईको जन्मदिनमा रिलिज गर्ने गरी फ्लोरमा रहेको फिल्म 'घामपानी'को प्रदर्शन तय भएको छ । फिल्म नयाँ बर्ष २०७४ को पहिलो दिन बैशाख १ बाट दर्शकमाझ आउने जानकारी निर्देशक दिपेन्द्र लामाले दिएका छन् ।

फिल्मका निर्माताहरुले वितरकहरुसँग छलफल गरी बुधबार रिलिज डेटको टुंगो लगाएका हुन् । दर्शक र फिल्म दुवैका लागि राम्रो अवसर भएकाले नयाँ वर्ष छानिएको निर्देशक दीपेन्द्र लामाले बताए ।

फिल्म समिक्षक लामाको डेब्यू निर्देशन रहेको फिल्म अहिले छायाँकनमा छ । सिन्धुलीका विभिन्न स्थानमा छायाँकनरत फिल्ममा अभिनेता दयाहाङ र अभिनेत्री केकी अधिकारी लिड अभिनयमा छन् । लिड अभिनेताको जन्मदिन नै पारेर ‘घामपानी’ रिलिज गरिँदा दयाहाङप्रति शुभकामना र सम्मान दुवै हुने भएकाले पनि निर्माताहरुले वैशाख १ लाई रोजेको बताईन्छ ।
फिल्ममा दयाहाङले फुर्वा तामाङ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । फुर्वाको तारा शर्मा नामक युवतीसँग प्रेमसम्बन्ध हुने कथा फिल्ममा छ । ताराको भूमिकामा केकी अधिकारीलाई देख्न पाइनेछ ।
सिन्धुलीका निबुवाटार र सातपत्रे गाउँमा फिल्मको सुटिङ भइरहेको छ । बुधबारसम्म ५० प्रतिशत सुटिङ सकिएको कार्यकारी निर्माता मणिराम पोखेरलले अवगत गराए । उनका अनुसार तिहारअघि फिल्मको सुटिङ सकिनेछ ।
‘घामपानी’ अन्तरजातीय प्रेमकथा हो । तर, लेखक तथा निर्देशक लामा अघिपछिका अन्तरजातीय प्रेमकथाभन्दा फरक कथालाई पस्किन आफुरु लगि परेको बताउँछन् ।

