Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युएईमा म्युजिक भिडियो अवार्ड : पल र बर्षा उत्कृष्ट

फिल्मीखबर, काठमाडौं, 2016/09/19
 
युएईको अबुधाबीमा सम्पन्न पहिलो नेपाली म्युजिक भिडियो अवार्डमा उत्कृष्ट मोडल तर्फ भिडियोको हिट जोडी पल शाह र बर्षा राउत उत्कृष्ट बनेका छन् । उत्कृष्ट एक्टर र एक्ट्रिस तर्फ पल र बर्षाले अवार्ड उचाले । 
 
 
यस्तै गायन तर्फ दुर्गा खरेलले उत्कृष्ट पपगायिकाको अवार्ड जितिन् भने अबुधाबीको फोल्बलोर हलमा शुक्रबार सम्पन्न अवार्डमा सोही विधामा पुरुषतर्फको अवार्ड गायक आमिर शेखले पाए। दुर्गाले 'कालेकाले' गीतका लागि सो अवार्ड जितेकी हुन् भने आमिरले 'ओई मैच्याङ' गीतबाट अवार्ड जिते । 
 
 
पार्श्व संगीत विधा अन्तर्गत बाँडिएको अवार्डमा युवराज चौलागाईंले हरेक शब्दको गीतका लागि पुरुषतर्फको अवार्ड जिते। मिलन अमात्य 'दुई थोपा आँसु'का लागि उत्कृष्ट ठहरिन्। संगीत, भिडियो र विशेष गरी तीन विधामा बाँडिएको अवार्डमा गायिका कोमल वलीलाई विशेष सम्मान गरियो। गीतकार संघ अध्यक्ष योगेन्द्रमणि दाहाललाई पनि सम्बन्धित क्षेत्रमा गरिएको योगदानका लागि सम्मान गरियो।
 
 
योगेन्द्रमणीद्वारा रचित गीत 'दुई थोपा आँसु' बोलको गीतको भिडियो उत्कृष्ट म्युजिक भिडियो ठहरियो भने भिडियो निर्देशन गरेका सहेन्द्र श्रेष्ठ निर्देशकतर्फ उत्कृष्ट ठहरिए। हरि हुमागाईं सोही गीतका लागि उत्कृष्ट छायाँकार चुनिए। भिडियो निर्माण गरेको कोर क्रिएसन पनि उत्कृष्ट ठहरियो।
 
 
सुगम संगीततर्फको उत्कृष्ट रचनाकारको अवार्ड किशोर घिमिरेले प्राप्त गरे भने संगीत संयोजकको अवार्ड 'तिम्रै मायाले' गीतका लागि अलमोडा राना उप्रेतीले प्राप्त गरे। सोही विधामा सुनिल मास्के 'किन लायौ माया परदेशी'का लागि उत्कृष्ट संगीतकार ठहरिए।
 
उत्कृष्ट लोक दोहोरीतर्फ रितकुमार श्रेष्ठ र जमुना रानाले अवार्ड प्राप्त गरे। म्युजिक भिडियो विधातर्फ सम्पादनको अवार्ड प्रकाश तुलाधरले प्राप्त गर्दा म्युजिक भिडियोमा शंकर बिसीले गरेको नृत्य निर्देशन अरु भन्दा अब्बल बन्यो । 
 
मिलन चाम्स निर्देशित गीत डायस्पोरामा खिचिएकामध्ये उत्कृष्ट ठानियो। राष्ट्रिय भावनाले प्रेरित गीततर्फको अवार्ड भने सुव्रत आचार्य र प्रदीप दाहालले संयुक्त रुपमा थापे। श्वेता पुन्जलीले उदाउँदो प्रतिभाको अवार्ड प्राप्त गरिन्।
 
खचाखच दर्शकबीच सम्पन्न अवार्डमा नरेश भट्टराईलाई एमसी अफ दि इयरको अवार्ड दिइयो भने श्याम अर्याललाई चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानका लागि पत्रकारिता पुरस्कार प्रदान गरियो। दुबईमा नै बस्दै आएकी सुमिना श्रेष्ठलाई भने प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।
 
कार्यक्रममा कोमल वली, दुर्गा खरेल, युवराज चौलागाईं, आमिर शेख, सुजन तिमिल्सिना, रितकुमार श्रेष्ठ आदिले गीत प्रस्तुत गरेका थिए भने पूजा शर्मा, पल शाह, वर्षा राउत, शंकर बिसी, सुमिना श्रेष्ठले नृत्य प्रस्तुत गरेका थिए। तर कार्यक्रममा कोमल वलीको प्रस्तुतिले सबको मन जितेको थियो। कहिले मञ्चमा दर्शक बोलाउँदै त कहिले आफू दर्शकबीच जाँदै वलीले करिब आधा घन्टा आफ्ना चर्चित गीत सुनाएकी थिइन्।
 
उनको गीतमा अबुधाबीका कार्यवाहक राजदूत नेत्र टण्डन मञ्चमै पुगेर नृत्य गरेका थिए। पाँचौंपल्ट दुबई आएको बताउँदै उनले देश सम्झेर काम गर्न आग्रह गरेकी थिइन्।
 
नेपालको संगीक्षा फिल्मस् र अबुधाबीको नमस्ते ट्राभल एन्ड टुर्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपालबाट ४० जना कलाकारको टोली अबुधाबी पुगेको थियो । अवार्ड समारोहमा फिल्म क्षेत्रसँग जोडिएका केहि विधामा पनि सम्मान प्रदान गरियो । 
 
युवा स्टार अनमोल केसीलाई पछिल्लो बर्षकै पपुपर अभिनेताको अवार्ड प्रदान गरियो भने प्रेमगीत हिरोईन पूजा शर्माले पनि सोहि विधामा अवार्ड उचालिन् । यस्तै रोमान्टिक फिल्म निर्देशकको अवार्ड प्रेमगीत निर्देशक सुदर्शन थापालाई प्रदान गरिएको थियो ।
 
तश्विरः श्रीधर पौडेल (अनलाईनखबर)
Most Visited News (monthly)