अभिनेता जीवन लुईंटेल ‘लेकसाइड’मा घाइते भएका छन् । घाइते भएका कारण जीवन ह्वीलचेयरको सहारामा हिंडडल गरिरहेको छन् । माथिको समाचारले नझुक्किनु होला । जीवन लेकसाइडमा घाइते त बनेका हुन् तर साँच्चिकै हैन । फिल्ममा ।
त्यो पनि ‘लेकसाइड’ शीर्षकमै बनिरहेको फिल्ममा । फिल्मीखबरलाई प्राप्त केही तस्बिरमा जीवनको घाइते चोला देखिएको हो । तस्बिरमा देखिए अनुसार जीवन फिल्ममा गायकको रुपमा देखिएका छन् । फिल्मीखबरसँगको कुराकानीमा जीवनले आफू फिल्ममा संघर्षशील गायकको रुपमा देखिने पुष्टि गरे ।
‘ फिल्ममा म पोखरामा रहेर स्थापित हुन संघर्ष गरिरहेको गायकको रुपमा देखिनेछु । यही क्रममा घाइते भएपछि ह्वीलचेयरको सहारामा हिड डुल गरिरहेको छु । कुनै दिन म पनि यस्तै संघर्षबाट गुज्रिएको हुनाले चरित्रलाई आत्मसात गर्न सजिलो भएको अनुभूत गरेको छु र मोफसलमा रहेर संघर्ष गरिरहेको थुप्रै कलाकारले यो चरित्रमा आफू पाउनुहुन्छ भन्ने विश्वास लिएको छु,’ जीवनले भने ।
फिल्मलाई राजु अधिकारीले निर्देशन गरेका हुन् जसले यसअघि ‘द निर्मला’ र ‘सुब्बासाब’ निर्देशन गरेका छन् । फिल्ममा जीवनलाई नीता ढुंगानाले साथ दिएकी छिन् । जीवन र नीता जोडी बनेको यो चौथो फिल्म हो । जीवन र नीताले यसअघि ‘नोटबुक’, ‘भूलभूलैया’, र ‘धून’मा जोडी बनेर काम गरिसकेका छन् । फिल्मलाई ज्योति ढुंगानाले निर्माण गरेका हुन् । फिल्म सम्पूर्ण छायांकन पोखराको लेक साइडमा हुने र ६० प्रतिशत छायांकन सकिइसकेको निर्माण टिमले जनाएको छ । फिल्मको सार्वजनिक मिति भने तय भइसकेको छैन ।

