हप्तै पिच्छे एउटै कलाकार पर्दामा आयो भने दर्शकले कति साथ देलान् ? पक्कै पनि हरेक हप्ता एउटै अनुहार पर्दामा देख्दा दर्शक पनि अघाउन सक्छन् । यस्तै हुनसक्छ अभिनेता किशोर खतिवडालाई ।
भदौको मात्र कुरा गर्ने हो भने उनका एकपछि अर्को हप्ता गर्दै तीन फिल्म दर्शकमाझ आउँदैछन् । भदौ को ९ गते रिलिज हुने 'शकुन्तला'ले एक हप्ता पार् गर्दा नगर्दा भदौ १७ मा 'वृन्दावन' आउँदैछ । त्यसको दुई हप्तापछि पुनः भदौ ३१ मा किशोरकै अर्को फिल्म 'ड्राईभर दाई' आउँदैछ ।
कुरा यतिमा मात्र सिमित रहेन्, 'ड्राईभर दाई' रिलिजको तेस्रो हप्तामा फेरी उनकै फिल्म 'किस्मत २' रिलिज हुँदैछ । त्यसैले दर्शकले कुन कुन सम्म हेर्ने प्रश्न उनको अघि छ । हरेकहप्ता गरेर आउँदै गरेका आफ्ना फिल्मको प्रचारमा जाँदा उनले कुन कुन फिल्म हेरिदिन आग्रह गर्ने ?, उनको कुन कुन आग्रह दर्शकले स्विकार गर्ने अर्को प्रश्न हो ।
हप्तैपिच्छे मात्र होईन, एक दुई महिनाको बीचमा फिल्म रिलिज हुँदासम्म दर्शकले कुनै अभिनेता अभिनेत्रीलाई नपत्याएको धेरै उदाहरण हाम्रै अगाडी छन् । त्यसैले त्यो प्रकारको घटना किशोरमा पनि लागु हुनसक्छ ।
त्यसो त किशोर खतिवडा नेपाली फिल्म उद्योगको भयंकर बिक्ने नाम पनि होईन् । कहिले रेखा थापासँग त कहिले छबिराज ओझासँग जोडिएर मात्र उनका फिल्म हिट लिस्टमा परेको पाईन्छ । त्यसैले किशोरको अभिनय जोडिएका लगातार फिल्म पर्दामा आउँदा यसको घाटा निर्मातालाई बढि पुग्ने पक्का छ ।
त्यसैले यो पटक शिल्पा पोखरेलसँग मात्रै 'वृन्दावन' र 'किस्मत २' गरी दुई पटक अनि ड्राईभर दाईमा आफै ड्राईभर बनेर आउँदा उनले दर्शकबाट साथ पाउने नपाउने कुराले नै उनको खास स्टारडम निर्धारण गर्नेछ । तर लगातार रिलिज हुने तीन फिल्मले सफलता हात पार्न सकेनन् भने त्यसको प्रत्यक्ष असर अन्तिममा रिलिज हुने छबिराज ओझाको 'किस्मत २' लाई पर्नेछ । किनकी वृन्दावनबाट पर्दामा आउँदा किशोर उनै किस्मत २ हिरोईन शिल्पा पोखरेलसँग हुनेछन् ।

