विकास वोर्डको समन्वयमा चलचित्र निर्माता संघले हरेक हप्ता शुक्रबार रिलिज हुने फिल्मलाई एक हप्ते होल्ड ओभर दिनपर्ने भन्दै अन्य बार फिल्म रिलिज गर्न नपाउने गरी बनाएको नियम विपरित भोली अर्थात बिहिबारबाटै अर्को हप्ताको लागी दुई फिल्म रिलिज हुने भएका छन् । यसअघि प्रेस मिट गर्दै 'चपली हाईट २' टिमले ले शुक्रबार मात्रै प्रदर्शनमा आउने बोले पनि अन्ततः बिहिबार नै फिल्म लगाउने तयारीमा जुटेको हो ।

यस्तै 'वीर विक्रम' निर्माण टिम पनि यदि प्रतिस्पर्धी फिल्म चपली हाईट सिक्वेल लाग्छ भने आफु किन पछि हट्ने भन्दै रिलिजको लागी अघि सरेको छ । 'वीर विक्रम' निर्माता निर्देशक मिलन चाम्ससँग फोन सम्पर्क नभए पनि उनले पनि सबैजसो हलमा बिहिबार फिल्म लगाउन निर्देश गरिसकेको बुझिएको छ ।
राजधानीका एक हल सञ्चालकले फिल्मीखबरसँग कुरा गर्दै दुबै फिल्म बिहिबार नै रिलिजको लागी अघि बढिसकेको र भोली नै प्रदर्शन हुन लागेको बताए ।
वोर्डको नियमलाई यसअघि नै निर्माताको हित विपरित रहेको आरोप लगाएका चपली निर्माता अर्जुनकुमारले देशभर मात्रै होईन अष्ट्रेलियामा पनि आफ्नो फिल्म बिहिबार नै लाग्ने तयारी भएको भन्दै अघि बढिसकेकोले कसैले रोक्न नसक्ने दाबी गरे ।
उता निर्माता संघ अध्यक्ष समेत रहेका चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राईले कसैको मुढेपेलोले नियम नतोडिने दाबी गरे । अध्यक्ष राईले सेन्सर सिफारिस दिँदा नै दुबै फिल्मले शुक्रबार मात्र रिलिजको लागी सहमती गरेको भन्दै त्यो तोडिएको खण्डमा वोर्डले आफ्नो नीति नियमसंगत हिसाबले काम अघि वढाउने बताए ।
विकास वोर्डकै पहलमा अघिल्लो हप्ता रिलिज फिल्मलाई मार नपार्ने भन्दै शुक्रबार मात्र फिल्म रिलिजको लागी धेरै पटक दुबै निर्माताबीच छलफल समेत बएको थियो ।

