युवा स्टार अनमोल केसीको नयाँ प्रोजेक्ट 'कृ'को लागी हिरोईनको रूपमा मोडल अदिती बुढाथोकी फाईनल भएकी छिन् । अडिसनबाट हिरोईन खोज्ने क्रममा परेका ३० आवेदनबाट अन्तिम १० छनोटपछि ९ प्रतिस्पर्धीलाई उछिन्दै अदिती अन्ततः अनमोलकी हिरोईन बन्ने पक्का भएको हो ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गर्नेछ । फिल्ममा सुवास गिरी र भूवन केसी निर्माता रहेका छन् । कमल गिरी कार्यकारी निर्माता रहनेछन् भने निर्देशनमा सुरेन्द्र पौडेल रहने छन् ।
फिल्मको छायांकन माघबाट सुरु हुने निर्माता सुवास गिरीले जानकारी दिएका छन् । फिल्मको तयारी स्वरुप अहिले अनमोल विभिन्न तालिममा व्यस्त छन् ।

को हुन् अदिती ?
चर्चित ब्यानरका साथमा अहिलेका सुपरस्टार नायक अनमोल केसीसँग काम गर्न लागेकी अदिती बुढाथोकी चर्चित मोडल हुन् । उनको सामाजिक संजाल इन्स्ट्राग्राममा १ लाख भन्दा बढी फलोअर्स छन् ।
अदितीले हालै मात्र भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी छिन् । अदितीले भारतका चर्चित टेलिभिजनका कार्यक्रमका लागि पनि आफू छनोट भएको बताएकी छिन् ।
भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा पनि काम गर्न लागेको अदितीको भनाई छ । ‘कृ’को अडिसन दिएर उनी मुम्बइ पुगेकी छिन् ।

