१६ बर्षको उमेरमा आएर चिकित्सकको लापरबाहिका कारण ज्योति गुमाएकी भक्तपुरकी श्रृष्टि केसीको जीवनीमा आधारित रहेर फिल्म 'ब्लाईण्ड रक्स' बन्ने भएको छ । 'हँसिया' निर्देशक मिलन चाम्सले पछिल्लो प्रोजेक्ट 'वीर विक्रम' रिलिज पहिले नै यो फिल्मको निर्माण घोषणा गरे ।
'ब्लाईण्ड रक्स'मा निर्माता निकेश लिम्बु र निर्देशक चाम्सबीच पुनः टिमअप पनि भएको छ । निकेश 'वीर विक्रम'का निर्माता हुन् । कार्यक्रममा ज्योती गुमाएर पनि आफ्नो प्रतिभाबाट पछि नहटेकी बहु प्रतिभाकी धनि श्रृष्टि पनि उपस्थित थिईन् ।

वायोपिक फिल्ममा श्रृष्टिको भुमिका भने वेनिशा हमालले निभाउने भएकी छिन् । फिल्ममा नाजिर हुसैन, गौरी मल्ल, अर्पण थापा लगायतको अभिनय रहने पक्का भईसकेको छ ।

दृष्टिबिहिन भएपछि पनि एसएलसीमा प्रथम श्रेणी, इन्टर लेबलमा नेपाल टप, ब्याचलर लेबलमा नेपालीमा नेपाल टप गरेर साहसमा कुनै हलचल नल्याएकी श्रृष्टि धेरै दृष्टि विहिन अनि शारिरिक अशक्तता भएकाहरुको प्रेरणाकी स्रोत हुन् ।
उनले देश विदेशका विभिन्न कार्यक्रमहरुमा पुगेर आफ्नो प्रतिभा देखाउँदै धेरैको मन जितेकी छिन् । नेपाल र भारतमा छायांकन हुने फिल्ममा हरि लम्साल र ताराप्रकाश लिम्बुको संगीत, रामकुमार केसीको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशन, यम थापाको कथा रहनेछ ।
कार्यक्रममा बोल्दै नायिका वेनिशा हमालले चलचित्रमा काम गर्ने पक्का भएपछि आफ्नो काम श्रृष्टीको कथा पढ्ने र उनको प्रेरणात्मक कुराहरु सुन्ने भएको बताइन् ।

