गत बैसाखमा नेपाल रिलिज भएको फिल्म ‘के म तिम्रो होइन र’को अमेरिकामा विशेष प्रदर्शनी भएको छ । जुन १८ मा अभिनेता आर्यन अधिकारीको उपस्थितीमा करिब ५ सय दर्शक अट्ने क्षमता भएको अमेरिकाको सान फ्रान्सिस्कोमा अवस्थित ‘मचान थिएटर, अल्मेडा’मा सफल शो सम्पन्न भयो ।

फिल्म हेरिसकेपछि दर्शकले आर्यनको कामको राम्रो तारिफ गरेको जानकारीमा छ । आर्यनले नेपाल रिलिजमा पनि एक्शनमा देखाएको संभावनालाई धेरैले तारिफ गरेका थिए ।

सन् २०११ देखि नेपाली गीत संगीतलाई मुख्य प्राथमिकता राख्दै विभिन्न शो आयोजना गर्दै आएका चन्द्र महर्जन र उनको कम्पनी ‘शो वीज नेपाल, यूएसए’ले यो फिल्मको सोहि ठाउँमा अर्को शो गर्ने भएको छ । यो कम्पनीले पहिलो पटक नेपाली फिल्मको शो गर्न लागेको हो ।
कार्यव्यस्तताका कारण पहिलो शोमा उपस्थित हुन नसकेका फिल्म निर्देशक आकाश अधिकारीलाई सो वीजले प्रमुख अतिथीको रुपमा निम्तो पनि दिइसकेको छ । आकाश जुलाइको दोश्रो साता अष्ट्रेलिया हु“ँदै अमेरिका पुग्नेछन् । अमेरिकामा नै फिल्म सम्बन्धी अध्ययन गरेर फर्किएका आर्यनलाई दर्शकले अत्याधिक माया दिएका थिए ।
फिल्मको अन्य शो अष्ट्रेलिया, आयरल्याण्ड र यूकेमा पनि चाडै हुने निर्देशक आकाशले जानकारी दिए । कथावस्तु, एक्सन र गीतसंगीतलाई उत्कृष्ट मानिएको यो फिल्ममा आर्यन अधिकारी र मरिष्का पोख्रेल मुख्य भूमिकामा छन् । सुरेश अधिकारीले यो चलचित्रको निर्माण गरेका हुन् ।

