लगातार चार वटा हिट फिल्म दिसकेका अभिनेता अनमोल केसीले एउटा फिल्ममा अभिनय गरे वापत २० लाख पारिश्रमिक पाउने भएका छन्। निर्माता सुवास गिरीको ब्यानरमा बन्न लागेको "कृ" नामक फिल्ममा अनमोललाई २० लाख पारिश्रमिक दिएर अनुबन्धित गरिएको हो ।
फिल्मका लागि २० लाखमा साईन गरेपछी पत्रकारसँग कुरा गर्दै अनमोलले हिन्दी फिल्मका लागि पनि कुरा चलेको बताए । उनले भने, 'स्क्रिप्ट हेरेको छैन तर कुरा भने चलिरहेको छ ।'
यसअघि दुई फिल्म 'नोभेम्बर रेन' र 'क्लासिक'मा आर्यन सिग्देलसँग सहकार्य गरेका निर्माता गिरीले यो फिल्ममा भने भुवन केसीसँग सहकार्य गर्दैछन् । यो फिल्ममा भुवन केसीको केही प्रतिशत लगानी हुने बताईएको छ।
बादलको अर्थ बोक्ने संस्कृत भाषाको शब्द "कृ" एक्सनमा केन्द्रित हुने बताईएको छ । अहिलेसम्म लभर ब्वाईको भूमिकामा मात्र देखिएका अनमोल अब भने एक्सन ब्वाईको रुपमा देखिने छन्।
.jpg)
आउँदो फाल्गुन महिनाबाट फिल्मको सुटिङ सुरु हुने भएको छ जसलाई सुरेन्द्र पौडेलले निर्देशन गर्ने छन् भने कमल गिरी कार्यकारी निर्माता र सह-निर्माताका रुपमा श्री पराजुलीले सहयोग गर्ने भएका छन्।
डेढ करोड भन्दा बढि लगानीमा बन्ने खबर आएको यो फिल्मको अर्को बर्षको दशैंमा रिलिज गरिने लक्ष्य राखिएको छ । फिल्मलाई मनोज राठीले वितरण गर्ने छन्। फिल्मको कथा छेतेन गुरुङ र आशिष रेग्मीले लेखिरहेका छन् ।
तत्काल कुनै फिल्म नगर्ने बताएका अनमोलले महँगो पारिश्रमिक पाएपछी फिल्म खेल्न राजी भएका हुन् । अब उनले यो फिल्मको सुटिङ अगाडी अन्य फिल्म नगर्ने बताईएको छ ।

