अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भई वाहवाही कमाइसकेको फिल्म 'कालो पोथी'को बुधवार राजधानीमा प्रिमियर गरिएको छ । ७२ औं भेनिस इन्टरनेसनल फिल्म महोत्सवमा 'इन्टरनेसनल क्रिटिक्स विक' जितेको 'कालो पोथी'लाई प्रिमियरमा सबैले रूचाएको पाईयो ।
यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई मिन बहादुर भामले निर्देशन गरेका हुन् । मुगुका दुई बालसखा प्रकाश र किरणबीचको मित्रतालाई माओवादी युद्धको पृष्ठभूमिमा राखेर निर्देशक भामले फिल्मको रूप दिएका हुन् ।

फिल्म ‘कालो पोथी’मा वेनिशा हमाल, विपिन कार्की, प्रबिण खतिवडा, खड्गराज नेपाली, शुक्रराज रोकाय, जितबहादुर मल्ल, हन्सा खड्का, नन्द प्रसाद खत्रीलगायतको अभिनय हेर्न सकिन्छ । फिल्मको पटकथा एवं संवाद निर्देशक भाम र अभिनाष विक्रम शाहीको रहेको छ ।

