हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्तीको निर्माण सुरु गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची–८ गिरान्चौरका ६५ परिवार भूकम्पपीडितलाई दशैँ सम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्य धुर्मुस-सुन्तली फाउण्डेसनले लिएको छ ।

अहिले धुर्मुस-सुन्तली आफैं ढुंगा बोक्नुका साथै साबेल र बेल्चा बोकेर गिरान्चौर एकीकृत बस्तीको जग बसाल्न तल्लिन छन् । देश बिदेशमा रहेका नेपालीहरुको सहयोगलाई धुर्मुस सुन्तलीले सहि सदुपयोग गरेर भुकम्प पिडितहरुको लागी नमुना वस्ती निर्माणमा जुन तरिकाले दिनरात खट्टिरहेका छन् वास्तवमा निकै सह्रानिय रहेको छ ।
१०० रोपनी जमिनमा तीन वटा ब्लक गरी ६५ घर धुरी बन्न लागेको उक्त नमुना वस्ती निर्माणको लागी खट्टिएका धुर्मुस-सुन्तलीले फिल्मीखबरसँगको प्रत्यक्ष कुराकानीमा निस्वार्थ मनले गरेको यो कार्यमा सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली जनताहरुलाई सहयोगको अपिल गरेका छन् ।
बस्ती निर्माणको घोषणा गरेदेखि अहिलेसम्मकरिब एक करोड तीस लाख रुपैँयाको हाराहारीमा सहयोग संकलनभएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिएकी छिन् । तर, ६५ भूकम्पपीडित तामाङ परिवारका ५ सय १५ जना सदस्यको आश्रयस्थल निर्माण गर्न ४ करोड भन्दा बढी लाग्ने देखिएको उनको भनाइ छ । गिरान्चौर एकीकृत बस्ती मात्र नभइ बस्तीलाई बालमैत्री, अपाङ्गमैत्री, खुला दिसामुक्त, सफा र सुन्दर गाउँ बनाइने उनीहरुले बताएका छन् ।
सरकारले तोकेको मापदण्ड अनुसार बस्तीमा भूकम्पप्रतिरोधी चारकोठे घरको साथमा एक घर, एक धारा, एक बगैँचा र एउटा सामुदायिक भवन पनि निर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ ।
गिरान्चौरमा गएर फिल्मीखबरले गरेको प्रत्यक्ष्य कुराकानीमा त्यहाँका बासिन्दाले धुर्मुस-सुन्तलीलाई भगवानको रूप मान्दै सहयोग गरेकोमा धन्यवाद दिएका छन् । धुर्मुस-सुन्तलीको प्रयासले जीवन जिउने आधार मिलेको त्यहाँका बासिन्दाको भनाई छ ।
यसअघि काभ्रेमा निर्माण गरिएको एकीकृत पहरी बस्ती धुर्मुस–सुन्तलीले साढे दुई महिनामै पीडितलाई हस्तान्तरण गरेका थिए ।

