चलचित्र पत्रकार संघले आफ्नो १७ औं बाषिर्कोत्सवको अवसर पारेर तीन चलचित्र पत्रकारलाई सम्मान र पुरस्कृत गरेको छ । हरेक बर्ष जेठ ७ गते मनाइँदै आईएको स्थापना दिवसमा सम्मान र पुरस्कारको परम्परालाई यो पटक पनि निरन्तरता दिईएको हो ।
बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच सञ्चारमन्त्री शेरधन राईले पत्रकार डब्बु क्षेत्रीलाई दोसल्ला ओढाउँदै सम्मान पत्र प्रदान गरे । त्यस्तै तुलसी गिरी भावुक र श्याम अर्याललाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ सहित पुरस्कृत गरियो ।

सम्मानित तथा पुरस्कृत हुने पत्रकारहरुले आफ्नो यात्रामा यो प्रकारको सम्मानले थप हौसल पुगेको भन्दै आगामी दिनमा दर्शक तथा पाठकलाई सुसुचित गर्ने आफुहरुको अभियान जारी रहने बताए ।

कार्यक्रममा बोल्दै मन्त्री राइले अब चलचित्र पत्रकारिता र चलचित्र क्षेत्रलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताए । विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ अध्यक्ष महेन्द्र बिष्ट, न्युनतम पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसी लगायतले सुभकामना तथा बधाई मन्तव्य दिए ।
कार्यक्रममा संघका महासचिव सन्दिप सापकोटालाई वधाई ज्ञापन पनि गरियो । चलचित्र सेन्सर बोर्डमा नियुक्त भएका सन्दिपलाई संघका तर्फबाट वधाई ज्ञापन गरिएको थियो ।
यसैबीच कार्यक्रममा चलचित्र पत्रकार संघले गतबर्ष आएको भूकम्पबाट प्रभावित चलचित्र पत्रकारहरुलाई नगद राशी सहयोग गरेको छ । भूकम्प आउनु अगाडि संघको सदस्यता लिएका पत्रकारलाई २५ हजार र भूकम्प आएपछि सदस्य भएका पत्रकारलाई जनही १० हजार प्रदान गरिएको छ ।

३ पत्रकार मध्ये संघका सचिव समेत रहेका दिनेश सिटौला, राजाराम फुयाँल र अशेष अधिकारीले भने आफूले पाएको सहयोग राशी ‘चलचित्र पत्रकार कल्याणकारी कोष’लाई सहयोग गरेका छन् ।
संघले १२ जना भूकम्प पीडित पत्रकारहरुलाई रकम सहयोग गरेको हो । यो रकम विभिन्न चलचित्रकर्मी तथा व्यक्तिहरुको सहयोगमा जुटाईएको थियो ।
भुकम्प पीडीत पत्रलारलाई सहयोग रकम उपलब्ध गराउँदा रामु ढुंगानाले १ लाख २ हजार, पल्लभी भट्टले १ लाख २ हजार, ध्रुव दत्तले २५ हजार, गायक राजेश पायल राई र नायिका प्रियंका कार्कीले २५-२५ हजार सहयोग गरेका थिए ।

