अभिनेत्री रेखा थापाले धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौरमा बनाइरहेको नमुना एकिकृत बस्तीका लागी रु. एक लाख सहयोग गरेकी छन् । गत सालको बैशाख १२ गते गएको भूकम्पबाट ज्यान गुमाएकाहरुको दाहसंस्कारमा आफैंले पनि आर्थिक सहयोग गर्दै आइरहेकी रेखाले शुक्रबार धुर्मुस सुन्तलीको नयाँ बानेश्वर कार्यलयमै पुगेर एक लाख बराबरको चेक कुञ्जना घिमिरे ‘सुन्तली’ लाई हस्तान्तरण गरेकी हुन् ।

सुन्तलीलाई चेक हस्तान्तरण गर्दै रेखाले भनिन्, ‘म कलाकार भन्दा पनि एउटा नेपालकी छोरी भएर उनीहरुलाई सानो सहयोग गर्न आएकी हुँ । धुर्मुस सुन्तलीले गरेको यो कामको जति सरहाना गरेपनि कम हुन्छ ।’
यता सुन्तलीले पनि रेखाकै कारण अमेरिकाको कार्यक्रम छोडेर भूकम्प प्रभावितको सहयोगमा नेपाल फर्किएर काम थालेको खुलाइन् । उनले भनिन्, ‘सबैले आ आफ्नो ठाउँबाट गर्नु भएको थियो ।

अझ रेखा दिदि पनि फिल्डमा खटिरहेको देखेपछि हामीलाई पनि त्यहाँ ‘अमेरिका’ बस्न मन लागेन । रेखा दिदि आएर यो सहयोग गर्नु भयो हामीलाई पूरै फिल्म क्षेत्र आएको जस्तो भयो ।’
उनले दुई जना हाँस्य व्याङ्ग्य कलाकार बाहेक अरु कुनै पनि कलाकारहरुले आर्थिक सहयोग नगरेको समेत बताईन् । धुर्मुस–सुन्तलीको यो सामाजिक अभियानमा आर्थिक रुपमा सहयोग गर्ने नाम चलेका कलाकारहरुमा रेखा नै पहिलो हुन् ।
सिताराम ‘धुर्मुस’ भने निर्माण हुँदै गरेको गिरानचौर बस्तीमा छन् । सुन्तली यही साता त्यहाँ जानेछिन् ।

