अपिल बिष्ट फिल्मस् को व्यानरमा बनेको फिल्म 'झूम्की'को टिजर सार्वजनिक भएको छ । तर पहिलो भिडियो प्रचार सामग्रीको रुपमा सार्वजनिक टिजरमा लिड अभिनयमा रहेकी अभिनेत्री मलिना जोशी भने 'फ्रन्ट सट'मा छैनन् ।
निर्माण घोषणाको क्रममा लिड अभिनेत्री भनिएकी मलिनालाई टिजरमा पनि कलाकारको नाममा अन्तिममा राखिएको छ । भने यसअघि फर्स्टलुक पोस्टरमा पनि उनी अटाएकी थिईनन् । भदौ ९ लाई प्रदर्शन मिति तय गरेको यो फिल्मको प्रचारलाई अघि बढाउने अभियान स्वरुप पहिलो पाईलामा टिजर आउट गरिएको छ ।
पछिल्लो समय मलिना र निर्माण टिमबीच सम्बन्धमा खटपटी आएको कुरा गाईंगुईं चलिरहँदा टिजरमा मलिना नअटाउनुलाई अर्थपुर्ण रुपमा लिईएको छ ।
अपिल बिष्टको निर्माण तथा निर्देशन रहेको फिल्ममा मलिनासँगै दयाहाङ राई, रिश्मा गुरुङ, मनोज राठी, भोलाराज सापकोटा, बिजय बराल, शुष्मा कार्की लगायत अभिनयमा छन् । फिल्मको कथा भने रामबाबु गुरुङको हो ।