फिल्म रिलिज हुन तीन दिन पनि बाँकी छैन् । तर रिलिजको संघारमै आउँदा समेत 'बाटो मुनिको फूल २' का निर्माता र निर्देशकबीच बोलचाल अनि भेटघाट नै छैन् ।

श्रोतका अनुसार फिल्म प्रदर्शनको छेकोमा गत हप्ता मात्रै फ्रान्सबाट काठमाडौं झरेका निर्देशक सुवर्ण थापा र निर्माता तथा लिड कलाकार यशकुमारको भेट पनि भएको छैन् । न त सुवर्ण ले नै कल गरेर के छ 'प्रोड्युसर साप' भनेका छन् नत यशकुमार ले हेल्लो डार्साब' नै भनेका छन् !
फिल्म सम्पादनको क्रममा अनि विदेश प्रदर्शनको कुरा चलिरहँदा उत्पन्न परिस्थितीमा निर्माता र निर्देशकबीच कुरा नमिलेपछि सुवर्ण र यशकुमारको पानी बाराबारको अवस्था भएको बताईन्छ ।
यसअघि पनि केहि मिडियामा निर्माता निर्देशकको मतान्तरको समाचार बाहिरिएको थियो । तर यो विषयमा औपचारिक रुपमा दुबैले आफ्नो धारणा सार्वजनिक गर्न आँट निकालेका छैनन् ।
बैशाख १० मा रिलिज हुने यो फिल्मको टिमबीच नै उत्पन्न विवादले प्रदर्शनपछि पनि केहि घाटा पुर्याउन सक्छ तर पब्लिसिटीमा भने निर्माता यशकुमार पछि हटेका छैनन् । फिल्म प्रचारले चल्नेमा उनी सचेत छन् ।
यो फिल्ममा यशकुमारसँगै दिलिप रायमाझी, ऋचा शर्मा, बाबु बोगटी, रिमा विश्वकर्मा लगायत लिड रोलमा छन् ।

