चलचित्र प्राविधिक संघ (नेफ्टा)को बैठकले संस्थाको हित विपरित काम गरेको भन्दै निर्वाचित सचिव शंकर पाण्डेलाई पदबाट निष्काशित गरेको छ । शनिबार बसेको बैठकले पाण्डेलाई संस्थाको साधारण सदस्य मात्र रहने गरी सचिव पदबाट निष्काशित गरेको हो ।

फिल्मीखबरसँग कुरा गर्दै नेफ्टाका महासचिव सुरज आचार्यले संस्थालाई बदनामी गराउने काम गर्दै हिँडेको, अध्यक्ष पुष्कर लामाको विरुद्धमा लबिङ गरेको तथा गाली वेईज्जती गरेको आरोपमा कोषाध्यक्ष गीता पौडेलले दिएको निवेदन प्रमाणित भएपछि पाण्डेलाई पदबाट निष्काशित गरेको बताए ।
कुनै पनि संस्थाको पदमा रहेको मान्छेले नै आफ्नै संस्थालाई बदनामी गराउँदै बजारमा गलत हल्ला फैलाएको तथा आचरण विपरित काम गरेको आरोप पाण्डेलाई लगाईएको छ । बैठकमा पाण्डे भने उपस्थित थिएनन् ।
यसैबीच हाल उपत्यका बाहिर रहेका पाण्डेले अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित तीन जनाको षडयन्त्रमा आफुलाई निष्काशित गरेको भन्दै त्यो मान्य नहुने जिकिर गरे । उनले सम्पुर्ण नेफ्टा सदस्यको मन जितेर आफु निर्वाचित भएको र निष्काशित गर्ने अधिकार साधारणसभा अनि नेफ्टाका साधारण सदस्यहरुमा मात्र रहेको भन्दै निर्णय उल्ट्याई छाड्ने बताएका छन् ।
'अध्यक्ष र अन्य पदमा रहेका व्याक्तिहरुले मैले राम्रो काम गर्ने देखेपछि मलाई सुनियोजित रुपमा आउट गरिएको छ, यसको विरुद्धमा काठमाडौं आएपछि कदम चाल्नेछु', पाण्डेले फिल्मीखबरसँग भने ।
केहि महिना पहिले सम्पन्न निर्वाचनबाट पाण्डे अत्याधिक मतका साथ नेफ्टाको सचिव पदमा निर्वाचित भएका थिए ।

