२०७२ साला ६७ वटा फिल्म प्रदर्शन हुँदैगर्दा अघिल्ला बर्षमा भन्दा यो बर्ष औसत रुपमा धेरै फिल्म सफल बने । दर्जन जति फिल्मले लगानी उठाएको बर्ष समग्रमा नेपाली फिल्मको लागी फाप्यो ।

भुकम्पको मारमै परेको भएपनि ०७२ मा धेरै फिल्मले दर्शकको मन जितेको चर्चा हुँदैगर्दा केहि नयाँ अनुहारहरुको पनि चर्चा हुनु जरुरी छ । जहाँ डेब्यू कलाकार अनि यसअघि केहि फिल्म गरेर पनि चर्चामा नआएका नामहरु जोड्न उचित हुनसक्छ ।
प्रदिप खड्का
गीत संगीत बलियो भएपछि रिलिज पहिले नै चर्चामा रहेको फिल्म 'प्रेमगीत'बाट वाहि-वाहि पाए अभिनेता प्रदिप खड्काले । यसअघि 'स्केप' र 'ठुलो मान्छे' दुई फिल्म खेलेको भएपनि प्रदिप 'प्रेमगीत'बाट नायक बने । फिल्ममा उनले गरको कामको पनि राम्रो तारिफ भेट्यो ।
धेरैले एउटा संभावना बोकेको अभिनेता नेपाली फिल्म उद्योगमा आएको चर्चा गरे । अनि त्यो सफलतासँगै उनको फ्यान फलोईङ पनि ह्वात्तै बढ्यो । जुन क्रेज हलमा अनि विदेश प्रदरशनको क्रममा पनि देखिईरहेको छ ।
साम्राज्ञ्यलक्ष्मी शाह
बर्षको सर्वाधिक कलेक्शन गर्न सफल फिल्ममा परेको 'ड्रिम्स' फिल्ममा अनमोल केसीसँगै अपोजिटमा आईन्, साम्राज्ञ्यलक्ष्मी शाह । 'क्लियर डायलग डेलिभरी', उत्कृष्ट अभिनय कलाको कारण उनले पहिलो फिल्मबाट नै यस्तो हाईप लिईन् कि , यो प्रकारको हाईप सायदै कसैले पहिलो फिल्मबाट पाएका छन ।
युवा स्टार अनमोल केसीको चर्चा अनि क्रेजले उनी छायाँमा पर्ने आँकलन धेरैले गरिरहँदा साम्राज्ञी यसरी उदाईन् फिल्म हेरेपछि बर्षौदेखि फिल्म गरिरहेका कलाकार अनि फिल्मकर्मी समेत उनका फ्यान बने । बरु अनमोलको भन्दा बढि तारिफ 'ड्रिम्स' हेरेपछि दर्शकले साम्राज्ञीको गरे ।
बर्षान्तमा प्रदर्शनमा आएका दुई फिल्म 'रामप्यारी' र 'नाई नभन्नु ल ४'मा चार जना नयाँ अनुहारले नेपाली रजतपटमा डेब्यू गरे । म्युजिक भिडियोमा राज गरेका पल शाह, बर्षा राउत अनि आँचल शर्मा र आभाष अधिकारी । तर भिडियोको राज नै गरेको भएपनि फिल्म हेरेपछि पललाई कमैले 'वाच' गरे । तर उनलाई अभिनयमा बर्षाले उछिनिन् ।
बर्षाको अभिनयकलाको तारिफ भयो र भइरहेको छ । उनमा केहि आशा देखियो । त्यस्तै रेखा थापा स्टारर 'रामप्यारी'बाट भित्रिएका आभाष अधिकारीको पनि राम्रै चर्चा छ । 'रामप्यारी' हेरेर बाहिरिने दर्शकले उनको कामको तारिफ गरेका छन् । रेखा भएको फिल्ममा अन्य कलाकार छायाँमा पर्ने भएपनि उनकै भतिजा पर्ने आभाष 'नोटिस' हुनु राम्रै कुरा हो ।
यस्तै 'सिक्स प्याक' ज्यान पोस्टरमा आएपछि 'होस्टेल रिटर्न्स' अभिनेता सुशिल श्रेष्ठ पनि चर्चामा त रहे तर फिल्मले व्यापारिक सफलता हात पारेपनि अभिनयमा भने उनमा खासै दम देखिएन् । तर यो फिल्मबाट डेब्यू गरेकी अभिनेत्री स्वस्तिमा खड्काको अभिनयको तारिफ भयो । स्वस्तिमा फिल्मसँग जोडेर मात्र होईन् निर्देशक निश्चल वस्नेतसँगको विवाहको कारण पनि चर्चामा रहिन् ।
अभिनेत्री नीता ढुङ्गानासँगको प्रेम चर्चा अनि 'फूलैफुलको मौसम तिमीलाई'को डेब्यू कारणले आमेश भण्डारीको पनि केहि चर्चा भयो, तर बिडम्बना फिल्म चलेन् ।
जे होस्, नव प्रवेशीहरुको लागी पनि पछिल्लो बर्ष २०७२ फापेको नकार्न सकिन्न । २०७३ मा पनि यस्ता धेरै अनुहारहरुले रजतपटमा डेब्यू गर्दैछन्, उनीहरुको पनि सुरुवात सुखद बनोस्, शुभकामना छ ।

