यहि चैत्र २७ र २८ मा थाईल्याण्डमा हुने भनिएको बक्सअफिस फिल्म फेयर अवार्डको चर्चा उच्च छ । तर अवार्ड कार्यक्रमको गरिमा र प्रतिष्ठासँग जोडेर भन्दा पनि कार्यक्रममा जान फिल्मकर्मीहरुबीच भईरहेको पैसाको मोलमोलाईले अवार्डको चर्चा बढि छ ।
बक्सअफिस फिल्म क्लबको तर्फबाट हुन लागेको अवार्ड समारोहमा जानको लागी फिल्मकर्मीहरु अहिले पैसा जुटाउनमा व्यस्त छन् । कारण हो, पैसा नतिर्ने फिल्मकर्मी कार्यक्रममा जान नपाउनु । निर्माता निर्देशकदेखि कलाकार र रंग पत्रकारसम्म अहिले पैसा तिरेर थाईल्याण्ड जान खुट्टा उचालेर बसेका छन् ।
'जसले पैसा हाल्छ उसले थाईल्याण्ड जान पाउँछ' यो नारा बोकेर बक्सअफिस क्लब अध्यक्ष आरके सुवेदी ठाउँ ठाउँमा पुग्दा उनलाई फिल्मकर्मीले घेरेको पाईन्छ । अनामनगर होस् या बागबजार र बानेश्वर एरिया होस्, आरके सुवेदी पुगेको ठाउँमा आधा दर्जनबढि फिल्मकर्मीहरु सँगसँगै देखिन्छ, कोहीले पासपोर्ट बोकेर त कोहिले पैसाको बिटो बोकेर ।
यो भिडमा केहि रंग पत्रकारहरु पनि देखिएका छन् । केहिरंग पत्रकार बाहेक अन्य सबैसँग सुवेदीले ३० देखि ६० हजारसम्म पैसा उठाउँदै गरेको श्रोत बताउँछ । तर सामुन्ने आएर कसैले पनि मैले पैसा तिरेर जाँदैछु भने आँट गरेका छैनन् ।
गिनिज वर्ल्ड रेकर्डको हवाला दिँदै प्लेनमा नै वितरण गर्ने हल्ला गरिएको अवार्डमा जानको लागी फिल्मकर्मीहरुसँग बक्सअफिसले कम्तिमा पनि ५० हजार को औषतमा पैसा उठाएको बुझिन्छ । १ सय १५ जना फिल्मकर्मी र पत्रकारहरुले थाईल्याण्ड जानको लागी पासपोर्ट बुझाईसकेको श्रोत बताउँछ ।
विदेश यात्राको 'ट्राभल हिस्ट्री' पनि बन्ने अनि ५०, ६० हजार तिरेर थाईल्याण्ड घुम्न पाईने आशापछि फिल्मकर्मीहरुले खुट्टा उचालेका हुन् । यो प्रकारको घटनाले विदेशमा हुने अन्य अवार्ड समारोहलाई पनि एकै दर्जा दिएको छ ।
त्यसो त खस्किँदो नेपाली फिल्म अवार्ड समारोहको गरिमालाई पैसाको धन्दाले झनै गिराउने पक्का छ । यसअघि हङकङ देखि मलेसिया र कतारमा भएका अवार्ड समारोहलाई समेत बक्सअफिसको धन्दाले प्रश्न उब्जाएको छ । तर नगई नहुने उर्दी लगाईएका केहि फिल्मकर्मीहरु भने यता न उता परेका छन् ।
थाईल्याण्ड म धेरै घुमिसकेको मान्छे, त्यहाँ जान मलाई केहि रहर हैन, तर आयोजकबाट नगई नहुने उर्दी आएको छ, के गरुँ के गरुँ भएको छु, एक नाम चलेका निर्देशकले भने । तर पैसाको मोलमोलाईले फिल्म उद्योगलाई नै बदनामी गराउने संकेत बढ्दा यो क्षेत्रका सम्बन्धित निकायहरु भने मौन छन् ।

