युवा स्टार अनमोल केसी स्टारर फिल्म 'गाजलु'को फर्स्टलुक पोस्टर रिलिज भएको छ । अनमोलको जन्मदिनको अबसर पारेर बुधबार फिल्मीखबर डटकम मार्फत पहिलो पटक 'गाजलु' फर्स्टलुक रिलिज गरिएको हो ।

सार्वजनिक फर्स्टलुक पोस्टरमा लिड कलाकार अनमोल र डेब्यू अभिनेत्री सृष्टी श्रेष्ठलाई देखाईएको छ । जहाँ अनमोल र सृष्टीको प्रेमिल भाव दर्शिएको भान हुन्छ । अनमोल भने जन्मदिन पारेर पछिल्लो रिलिज फिल्म 'ड्रिम्स'को प्रदर्शनीको लागी कोरिया उड्दैछन् ।
हेमराज बिसी निर्देशित फिल्म 'गाजलु'मा रोहित अधिकारी निर्माता छन् । पछिल्लो समय नेपालमा स्टारडम बोकेको कलाकारमा पहिलो नम्बरमा पर्ने अनमोल केसी भन्दै निर्माता अधिकारीले उनै अनमोलको जन्मदिन नै आफ्नो फिल्मको लागी एक ऐतिहासिक दिन मानेर फर्स्टलुक पोस्टर सार्वजनिक गरेको बताए ।
जेठ २१ लाई प्रस्तावित रिलिज मिति तोकिएपनि वितरकहरुको आग्रहमा फिल्मको रिलिज मितिमा केहि फेरबदल हुने संभावना रहेको समेत निर्माता अधिकारीको भनाई छ ।
'गाजलु'मा अनमोल र सृष्टीसँगै गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान र ऋतिक शाही लिड रोलमा छन् । फिल्ममा कालिप्रसाद बाँस्कोटा, हर्कुलस बस्नेत र जयन जीको संगीत छ । अनमोल लिड रोलमा रहेका पछिल्ला तीन फिल्मले नै बक्सअफिसमा सुपरहिटको रेकर्ड राख्दा 'गाजलु'लाई लिएर धेरै दर्शक उत्साहित छन् ।

