आउँदो शुक्रबार अर्थात चैत्र १९ मा 'जन्मभूमी' नामक फिल्म रिलिज हुँदैछ । एक बर्षजस्तो पहिले फिल्म रिलिज हुने भनिएता पनि अनेकन कारण देखाउँदै निर्माण टिम बल्ल फिल्म रिलिजको लागी तयार भएको हो ।
तर राष्ट्रियतासँग जोडिएको तथा राष्ट्रभक्ति बोकेको भनिएको फिल्म रिलिजको संघारमा हुँदा पनि यसको चर्चा परिचर्चा, प्रचार खासै भेटिंदैन् । त्यसैले गुपचुप जस्तै गरेर फिल्म रिलिज गर्दा त्यसको नतिजा के आउला, त्यो चर्चा गर्न लायक हुनेछ ।
कलाकार तथा निर्देशक मोहन निरौलाको क्याप्टेनसिपमा बनेको यो फिल्मले नेपाली समाजको यथार्थतालाई पर्दामा चित्रित गरेको बताईँदै आईएको छ । तर पछिल्लो समय राजनीति र राष्ट्रियतासँग जोडिएका फिल्महरुले हावा खाईरहेको समयमा कतै 'जन्मभूमी' पनि त्यसैको शिकार त बन्ने होईन्, अर्को प्रश्न उब्जिएको छ ।
निर्देशक निरौला पनि फिल्म रिलिजको छेकोमा आउँदा पनि केहि दिन पहिलेसम्म फिल्म प्रचारमा भन्दा पनि नाटक देखाउनमा नै व्यस्त देखिए । बर्षदिन पहिले रिलिज गर्ने भनिएको फिल्म रिलिज नगरी पनि भएन भनेर रिलिज मात्र गर्नमा उनको नजर हो र व्यसायिक पाटोबाट केहि अपेक्षा नै गरेका छैनन् भने हाम्रो भन्नु केहि छैन् ।
तर प्रचार बिना दर्शकले यो फिल्म रिलिज हुँदैछ है भन्नेसम्म थाहा नपाई हलमा आउँदा त्यो फिल्म रिलिजपछिको व्यवसायिक नतिजा के होला, त्यसको लागी रिलिज पर्खिनै पर्दैन् । फिल्ममा जेबिका कार्की, निष्मा घिमिरे, अनु शाह, विनोद श्रेष्ठ लगायत अभिनयमा छन् ।

