बर्ष २०७२ को सफल फिल्म 'प्रेमगीत'को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ । फेशन तथा मोडलिङको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै एको संस्था 'रनवे फेशन हाउस'ले फिल्म क्षेत्रमा पनि आफ्नो उपस्थिती बढाउँदै 'प्रेमगीत' बाट नेपाली फिल्मको विदेश प्रदर्शन सुरु गरेको हो ।

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको तर्फबाट निर्माता तथा आशुसेन फिल्मस् प्रालीका अध्यक्ष सन्तोष सेन र रनवे फेशनको तर्फबाट अध्यक्ष सुवास सिंह ठकुरीले सम्झौतापत्र आदान प्रदान गरे । १८ देशको लागी ३० लाखमा 'प्रेमगीत'को विदेश प्रदर्शन अधिकार रनवेले आफ्नो पक्षमा पारेको हो ।
रनवेले १८ देश अन्तर्गत सिंगापुर, मलेशिया, थाईल्याण्ड, अष्ट्रेलिया, पोर्चुगल, न्यूजिल्याण्ड, युएई, कतार, बहराईन, ओमान, कोरिया, हङकङ, बेल्जियम, जर्मनी, फ्रान्स, नर्वे, भारत र युकेका लागी प्रदर्शन अधिकार किनेको छ भने आशुसेनको तर्फबाट नै युके र भारतका केहि शहर सहित अमेरिका, जापान, अष्ट्रेलिया, हङकङ लगायतका ठाउँमा फिल्मको प्रदर्शन हुनेछ ।
‘अब नियमित रुपमा राम्रा चलचित्रहरुको विदेश राईट हामी किन्ने छौं’, रनवे फेसनका अध्यक्ष सुवास सिंह ठकुरीले भने, ‘हामी पुरै विदेशको राईट किन्ने भएकाले निर्मातालाई छुट्टा छुट्टै देशमा सिनेमाको डिल गर्नु पर्ने झन्झट कम हुन्छ भने संस्थागत रुपमा ब्यापार गर्न पनि सजिलो हुन्छ ।
त्यस्तै निर्माता सेनले आफुले जुन सोचले फिल्म निर्माण हात हालेको सो सोच पुरा भएको भन्दै नेपालमा झैं 'प्रेमगीत'ले विदेशबाट पनि राम्रो प्रतिक्रिया पाउने आशा व्यक्त गरे । 'अन्तर्राष्ट्रिय स्तरको नेपाली फिल्म निर्माण मेरो मुख्य लक्ष्य हो, सोहि अनुसार आगामी दिनमा पनि गुणस्तरिय फिल्म निर्माण पहिलो प्राथमिकता हुनेछ', सेनले भने ।
निर्माता सेनले 'प्रेमगीत' नेपाल प्रदर्शनबाट आफ्नो हातमा ८० देखि ९० लाख पर्ने बताए । नेपाल र विदेश प्रदर्शनबाट आउने रकमले फिल्मको लगानी रिकभर हुने उनको आशा छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने प्रदिप खड्का र पूजा शर्मा लिड रोलमा छन् ।

