हाँस्य कलाकार तथा अभिनेत्री दिपाश्री निरौलाको निर्देशनमा बन्न लागेको फिल्म '६क्का पञ्जा' फ्लोरमा नजाँदै महँगोमा बिक्री भएको छ । हाईलाईट्स नेपालले फिल्म फ्लोरमा जानु पुर्व नै मोटो रकममा फिल्मको ओभरसिज प्रदर्शन 'राईट्स' तथा भिसिडी र 'युट्युव राईट्स' किनेको हो ।
श्रोतका अनुसार हाईलाईट्सले '६क्का पञ्जा' ४० लाख बढि रकममा लिएको हो । तर निर्माता तथा लिड कलाकार समेत रहेका दिपकराज गिरीले पैसा बताउन चाहेनन् ।
फिल्मीखबरसँगको संवादमा दिपकले आफ्नो फिल्म बिकेकोमा मात्रै खुशी मनाउनु भन्दा पनि राम्रो फिल्म बनाउँदै जाने र नेपाली फिल्मको बजारलाई माथी उकास्ने सोच आफुहरुको रहेको बताए ।
सोमबारबाट फ्लोरमा जाने भनिएको फिल्मले छायाँकन अगाबै बनाएको एक प्रकारको हाईप र दिपक दिपाको टिमअपमा यसअघि बनेका दुई फिल्मको मेकिङ र बिजनेस हेरेर हाईलाईट्सले '६क्का पञ्जा'माथि आफ्नो आँखा लगाएको बताईन्छ ।
यो फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् भने दिपकसँगै प्रियंका कार्की, बुद्धि तामाङ, शिवहरी पौड्याल, जितु नेपाल लगायतका कलाकारहरुको अभिनय रहने पक्का भईसकेको छ ।

