फिल्म निर्माण कम्पनि सुवास ईन्टरटेन्मेन्टले बर्ष २०७३ को लागी २ प्रोजेक्ट एकसाथ घोषणा गरेको छ । निर्माता सुवास गिरीले ०७२ को हिट फिल्म 'क्लासिक'को सिक्वेलसँगै दुई नम्बरमा 'केशर' वर्किङ टाईटल निर्माण घोषणा गरे ।

निर्माता गिरीले पुरानो टिम नै दोहिरिने गरि 'क्लासिक'को सिक्वेल बनाउने भनिरहँदा निर्देशक दिनेश राउतले भने यो बिषयमा कुनै सल्लाह नभएको बताएका छन् । फिल्मीखबरसँगको संवादमा राउतले तत्काल आफु सिक्वेल निर्देशनको सोचमा नरहेको भन्दै निर्मातासँग यो बिषयमा कुनै छलफल नभएको जानकारी गराए ।
'भर्खर मात्रै फिल्म हलबाट बाहिरिँदै छ, मैले पहिलेदेखि नै दर्शकको रेस्पोन्स हेरेर मात्रै सिक्वेलको बारेमा सोच्ने बोल्दै आएको हुँ, निर्माता ज्यूले कसरी २०७३ मै निर्माण हुनेगरी सिक्वेल घोषणा गर्नुभयो म आफै अनबिज्ञ छु', राउतले भने ।
फिल्मीखबरसँगको कुराकानी अनुसार 'क्लासिक' निर्माता र निर्देशकको कुरा बाझिएको छ । तर निर्देशक राउतले यो बिषयमा निर्माता गिरीसँग छिट्टै नै छलफल गरेर निचोड निकाल्ने बताएका छन् ।
उता निर्माता गिरीले भने दुई प्रोजेक्टमा आफुले तयारी गरिरहेको भन्दै 'प्लानिङ' मात्रै सेयर गरेको बताएका छन् । अफिसियल रुपमा पछि कार्यक्रम गरेरै घोषणा गर्ने भन्दै अहिलेलाई कार्य योजना मात्र सार्वजनिक गरेको बताए ।
वर्किङ प्रोजेक्ट 'केशर'लाई भने फिल्म सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । पौडेलले यसअघि 'आभाष' फिल्म निर्देशन गरेका थिए । यो फिल्मको लागी कलाकरहरुको टुंगो लागेको छैन् ।

