नेपाली फिल्म क्षेत्रका विक्की नामले चिनिने प्राबिधिक राम बहादुर श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । गएराती काठमाण्डौको प्रदर्शनी मार्ग स्थित बाल्मिकी क्याम्पस अगाडी विक्की मृत अवस्थामा फेला परेका हुन् ।

झन्डै २४ बर्षदेखि फिल्म क्षेत्रमा प्राबिधिकको रूपमा काम गर्दै आएका ४२ बर्षिय बिक्कीको मृत्युको कारण खुलेको छैन । पोष्टमार्टपका लागि उनको शवलाई काठमाण्डौको टिचिङ अस्पताल लगिएको छ । `चाहना` फिल्मबाट लाईट म्यान बनेका बिक्की केहि समयदेखि सहायक क्यामेराम्यानको रूपमा काम गर्दै आएका थिए ।
छायांकार कृष्ण श्रेष्ठका भाई समेत रहेका बिक्कीको असमायिक निधनमा दु:ख व्यक्त गर्दै चलचित्र प्राविधिक संघले आज सोमबार एक दिन फिल्मको सुटिङसहित अन्य फिल्मी गतिबिधी नगर्न आग्रह गरेको छ । संघका अध्यक्ष पुष्कर लामाले बिक्कीको निधनमा शोक व्यक्त गर्दै मृत्युको कारण छिट्टै खुल्ने बताए ।

