गत हप्ता प्रदर्शनमा आएको फिल्म 'ड्रिम्स'ले पहिलो हप्तामा ६ करोड ग्रस कलेक्शन गरेको निर्माण टिमले बताएको छ । वितरक गोविन्द शाहीका अनुसार फिल्मले देशभरका ७० बढि पर्दाबाट यो आम्दानी गरेको हो ।
दोश्रो हप्तामा पनि फिल्म ६४ बढि पर्दामा प्रदर्शनको क्रममा रहेको बताईएको छ । रिलिजको दिनबाट नै आक्रामक बिजनेस गरको फिल्मलाई शनिबारसहित परेका हप्तादिन भित्रका ४ बिदा अनि युवा स्टार अनमोल केसी रेकर्डेवल बिजनेसको मुख्य 'फ्याक्टर' बने ।
भुवन केसी निर्देशित फिल्ममा अनमोलसँगै साम्राज्ञ्यलक्ष्मी शाह लिड रोलमा छिन् । भने दिवाकर भट्टराई एशोसियट निर्देशकको रुपमा छन् । फिल्मको पटकथा तथा संवाद सामिप्यराज तिमिल्सिनाको हो ।
दोश्रो हप्तामा पनि फिल्मप्रति दर्शकको क्रेज कम देखिएको छैन् । दोश्रो शनिबार पनि हलहलमा दर्शकको उस्तै चाप देखियो । यसैबीच शनिबार राजधानीमा एक कार्यक्रम गर्दै 'ड्रिम्स' निर्माण युनिटले सफलताको खुशी साटेको छ । कार्यक्रममा डेब्यु निर्देशनमा सफलता चाखेका स्टार अभिनेता केसी हर्षित देखिए । कार्यक्रममा 'ड्रिम्स' टिमले सञ्चारकर्मी तथा केहि फिल्मकर्मीहरुलाई निम्तो गरेको थियो ।

