२०६२ सालमा नेपाल टेलिभिजनको चर्चित सिरियल 'सिन्दुर'का कथाकार प्रदिप भारद्वाज र निर्देशक योगेश घिमिरेको जोडी सुरु मै जम्यो । त्यसपश्चात ठुलोपर्दामा फर्किँदै ०६४ सालमा 'सपुत' र ०६५ मा 'सम्झना' बनाउँदा पनि यो जोडी जम्यो ।

त्यसपश्चात आफ्नो आफ्नो बाटो लागेका भारद्वाज र घिमिरेको ७ बर्षपछि टिमअप भएको छ । घिमिरेको अपकमिङ (अनटाईटल) प्रोजेक्टमा कथा, पटकथा तथा संवाद लेखकको रुपमा भारद्वाज जोडिएका छन् । शुक्रबार दिउँसो फिल्मीखबर संवाददातासँग भेट हुँदा ७ बर्षपछि बाँधिएका घिमिरे र भारद्वाज प्रफुल्लित मुद्रामा देखिए । 'लभस्टोरी' जनराको फिल्म आउँदो बर्ष बैशाख २ गतेबाट फ्लोरमा जाने तयारी भएको घिमिरेले बताए ।
घिमिरेको पछिल्लो प्रोजेक्ट 'भूलभूलैया' को प्रायः टिम नै अनटाईटल प्रोजेक्टमा दोहिरिने पक्का देखिएको छ । दिनेशकुमार पोखरेलको लगानी रहने फिल्ममा अभिनेताको रुपमा जीवन लुईंटेल रहने पक्का भएपनि अभिनेत्रीको टुंगो लागेको छैन् । संगितकारमा बसन्त सापकोटा रहनेछन् ।
'पछिल्ला केहि प्रोजेक्टमा आफुलाई लुईंटेल फाप्नु नै जीवन दोहोरिनुको कारण भनेका घिमिरेले पछिल्लो समय सिनेमामा जम्न नसकेका जीवनलाई पनि आफु फाप्ने दाबी गरे । झापा तथा ईलाममा खिचिने भनिएको फिल्मलाई तिहारको छेकोमा कार्तिक १४ गते रिलिज गर्ने निर्देशक घिमिरेले बताएका छन् ।

