बाहिरी कार्यक्रममा कमै देखिने प्रधानसेनापति राजेन्द्र क्षेत्री बुधबार एक नेपाली फिल्मको घोषणा सभामा उपस्थित भए । बब्बी भुपाल सिंहको निर्देशनमा बन्न लागेको फिल्म 'सयपत्री'को निर्माण घोषणा कार्यक्रममा उपस्थित क्षेत्री केहि फेमिलियर पनि देखिए अनि रमाईला अनुभव साटे ।
'सधैं दर्शक दिर्घामा बसने मान्छे म, पहिलो पटक स्टेजमा बस्दैछु' प्रमुख अतिथी बनेका क्षेत्री खुले, 'घरमा या काममा हुँदा पनि फुर्सद मिल्यो कि टिभी या फिल्म हेर्ने मान्छे, आज कुनै फिल्मको घोषणा कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी छु ।'
यसअघि परिवार सहित 'माला' हेरेको र फिल्म निकै मन परेको बताएका क्षेत्रीले बब्बीको 'सयपत्री'बाट पनि धेरै आशा राखेको बोले । "माला राम्रो लागेको थियो, हरेक सयपत्री फूलको थुँगा मिलेर नै माला बन्ने हुँदा 'समथिङ रिलेटेड विथ माला', फिल्मबाट धेरै आशा छ", क्षेत्रीले भने ।
उनी हरेकजसो नेपाली फिल्म सन्देशमुलक बन्नुपर्ने पक्षमा देखिए । 'सन्देशमुलक फिल्म बन्नेमा 'सयपत्री'मा पनि आशा छ, मेरो चाहना पनि हाम्रा फिल्म सन्देशमुलक बनुन् भन्ने हो', उनले भने ।

