अधिकारी व्रदर्स पिक्चर्सको प्रस्तुतीमा द स्काइ मुभिजको सहकार्य रहेको फिल्म 'के म तिम्रो होइन र' को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा फिल्ममा मुख्य कलाकार आर्यन अधिकारी र मरिष्का पोख्रेललाई देखाइएको छ ।

निर्देशक आकाश अधिकारीको खोजमा आर्यन र मरिष्काले यही फिल्मबाट नेपाली रजतपटमा पाइला चाल्न लागेका हुन् । यसैले पनि यी दुई कलाकारका लागि यो फिल्म विशेष हुने पक्का छ । फिल्मको फस्टलुकसँगै यसको निर्माणपक्षले फिल्मको अडियो जुकबक्स पनि सार्वजनिक गरेको छ । फिल्ममा ३ वटा गीत भएपनि २ वटा गीत मात्र जुकबक्समा राखिएको छ ।

फिल्ममा बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत छ । फिल्मका २ गीत कर्णप्रिय मात्र नभएर श्रोता तथा दर्शकको मुखमा झुण्डिने खालका छन् । फिल्ममा सुरेश अधिकारीको लगानी छ । सञ्जिव भट्ट र सुनिल अधिकारी यसका सह–निर्माता हुन् ।
फिल्ममा प्रज्जवल सुजल गिरी, सुरेन बसेल, सविना गोपाली, आकाशबाबु खवास, रमेश अधिकारी, बिनोद केसी तथा गौरी मल्ल र मिथिला शर्मा पनि विशेष भूमिकामा देखिनेछन् । फिल्मलाई नवराजकृष्ण थापाले खिचेका हुन् । फिल्ममा आकाश अधिकारीको कथा, यम थापाको पटकथा तथा संवाद छ ।


