गत शुक्रबारबाट प्रदर्शनमा आएको युवा स्टार अनमोल केसी अभिनित फिल्म 'ड्रिम्स'ले बक्सअफिसमा आक्रामक बिजनेसलाई जारी राखेको छ । उत्कृष्ट ओपनिङ गरेको फिल्मले प्रदर्शनको चौथो दिनसम्म पनि उत्कृष्ट लयलाई कायमै राखेको छ ।
आईतबारसम्म 'ड्रिम्स'ले साढे दुई करोड बराबबरको बिजनेस गरेको निर्माण युनिट तथा वितरकहरुबाट जानकारीमा आएको छ । वितरक गोपाल कायस्थले तीन दिनमा फिल्मले २ करोडको बिजनेस आंकडा पार गरेको बताए । उनका अनुसार फिल्म सिंगल थिएटरमा भन्दा पनि मल्टिप्लेक्समा दर्शकको चाप उच्च छ।
सोमबारको बिजनेस बाहिर आईसकेको छैन् । शिवरात्रीको बिदा पर्दैगर्दा फिल्मले सोमबार पनि अलनेपाल हाउसफुल बिजनेस गर्यो । मंगलबार र बुधबार पनि सार्वजनिक बिदा परेको कारण पहिलो हप्ताको कलेक्सनमा नै फिल्मले करिब ४ करोडको ग्रस बिजनेस गर्नसक्ने अनुमान छ ।
यसबीच मंगलबारबाट मल्टिप्लेक्स हलहरु क्युएफएक्स तथा बिगसिनेमामा फिल्मको शो थपिने भएको छ । क्युएफएक्स अन्तर्गतको कुमारी हलमा फिल्मको एक शो थपिएको छ भने सिटी सेन्टर स्थित बिगसिनेमाले २ थपेको छ । मल्टिप्लेक्सहरुमा फिल्मप्रति दर्शकको उच्च चाप बढेसँगै शो हरु झन थपिँदै गएको हो । अनमोल पिता भुवन केसीको डेब्यु निर्देशन रहेको यो फिल्ममा अनमोलसँग साम्राज्ञ्यलक्ष्मी शाह लिड रोलमा छिन् ।

