अभिनेत्री रेखा थापा प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको ‘गुडविल एम्वेसडर’ का रुपमा नियुक्ती भएकी छन् । बाँके जिल्ला भलिबल संघले सोमबार राजधानीमा औपचारिक कार्यक्रम गर्दै रेखालाई प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल दुतको रुपमा नियुक्त गरेको हो ।
रेखाले महिला भलिबलमा आफुलाई नियुक्त गरिएकोमा खुसी व्यक्त गर्दै आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने वचन दिइन् । कार्यक्रममा उनले भनिन्, ‘म पनि खेलप्रेमी हुँ । विशेषतः महिला भलिबल टोलीमा दुतको रुपमा नियुक्त हुन पाउँदा ज्यादै खुसी छु । आफुले सक्ने सहयोग गर्नेछु ।’ रेखा निर्मित तथा अभिनित फिल्म ‘राम प्यारी’ चैत २६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
यता बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले अभिनेत्री रेखाको संलग्नताले यस महिला भलिबल कपले थप उचाई लिने विश्वास व्यक्त गरे । दुई संस्करण पुरा भैसकेको प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको आगामी संस्करण भने बाँकेमा आयोजना हुनेछ ।

