प्रथम गुरुङ अवार्डको तयारी पुरा भएको छ । आयोजक जक्शन डटकमले आगामी फागुन १५ गते पोखरामा हुने अवार्डका सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । यसअगाडि दुई दिनसम्म हुने भनिएको अवार्ड वितरण कार्यक्रम अब एक दिनमात्रै हुने पनि आयोजकले जनाएको छ ।

अवार्ड कार्यक्रम शनिबार विहान ११ बजेदेखि संचालन हुने जक्शन डटकमका प्रमुख कार्यकारी अधिकृत भुपालकुमार गुरुङले जानकारी दिए । ‘हामीले अवार्ड कार्यक्रममा एउटा लाईफटाईम अचिभमेन्ट अवार्ड सहित ६९ वटा शिर्षकमा अवार्ड वितरण गर्नेछौँ’, गुरुङले भने–‘कार्यक्रमका लागि आवश्यक तयारी सबै पुरा भैसकेको छ ।’ अवार्ड कार्यक्रमलाई गृहमन्त्री शक्तिकुमार बस्नेत प्रमुख अतिथिको रुपमा उपस्थित हुने आयोजकले बताएको छ ।
त्यस्तै अवार्ड कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, अभिनेता राजेश हमाल, विजय लामा, दयाहाङ राई, अभिनेत्री रेखा थापा, झरना थापा, नम्रता श्रेष्ठ, दिया मास्के, निर्देशक भुषण दाहाल, रामबाबु गुरुङ लगाएत विशेष अतिथिको रुपमा रहनेछन् ।उनीहरुसँगै अधिकांश गुरुङ फिल्मकर्मीहरूको उपस्थिती अवार्ड कार्यक्रममा हुने व्यवस्थापक अरुण गिरीले जानकारी दिए ।
‘पहिलोपटक हुन लागेको अवार्ड कार्यक्रम भएकोले हामीले अवार्डमा सहभागि सम्पूर्ण फिल्मलाई नोमिनेशनमा राखेर निर्णय गरेका छौँ,’ व्यवस्थापक गिरीले भने–‘निर्णायकहरुले गरेको निर्णय त्यहि दिन सार्वजनिक गरिनेछ ।’ त्यस्तै पपुलर फिल्म, अभिनेता र अभिनेत्री छनौटका लागि खुला गरिएको भोटिङको अन्तिम नतिजा पनि सोहि दिन सार्वजनिक गरिने आयोजकले बताएको छ । ‘पपुलर अवार्ड’का लागि २१ वटा फिल्म, १५ जना अभिनेता र ११ जना अभिनेत्री मनोनयनमा परेका छन् ।
यतिबेला यो अवार्ड कार्यक्रम गुरुङ फिल्मकर्मीहरुमाझ निकै चर्चाको विषय बनेको छ । पहिलोपटक हुन लागेको ‘गुरुङ फिल्म अवार्ड’कै लागि कलाकारहरुले विभिन्न खाले तयारी गरिरहेका छन् । कतिपय कलाकारहरुले अवार्डको दिनमा आफ्नो प्रस्तुती राख्नका लागि यतिबेला रिहर्सल गरिरहेका छन् । विशेष गरि अभिनेता अभिनेत्रीहरुलाई अवार्ड हुने दिनको पर्खाई अझै बढि देखिन्छ । रेड कार्पेटमा पोज दिनुसँगै अवार्ड आफ्नो पोल्टामा पार्ने सपना साँचेका फिल्मकर्मीहरु अवार्डका लागि निकै उत्साहित पनि भएका छन् ।
अवार्ड अन्तरगत सेलिब्रिटि व्यवस्थापनमा गणेश ढकाल र साँस्कृतिक व्यवस्थापनमा लबशन गुरुङ रहेका छन् । पोखरा ग्राण्डमा हुने अवार्ड कार्यक्रम निकै सभ्य र भव्य हुने आयोजकले जनाएको छ । यो अवार्ड कार्यक्रमका लागि ३२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

