औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपाल चलचित्र विकास कम्पनी लिमिटेडलाई लिजमा दिएको बालाजु औद्योगिक क्षेत्रको जग्गामध्ये १२ रोपनी जग्गा फिर्ता लिएको छ । कम्पनीलाई अघिल्लो वर्ष लिजमा दिएको २६ रोपनी १२ आना जग्गामध्येबाट १२ रोपनी जफत गरिएको हो ।
उद्देश्यअनुरूप काम नगरेकाले जग्गा जफत गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताए । अब कम्पनीसँग १४ रोपनी १२ आना जग्गा बाँकी छ । चलचित्र निर्माण, वितरण, प्रदर्शन गर्न सो जग्गा तथा त्यहाँको संरचना भाडामा दिइए पनि त्यसअनुसार काम भएको नपाइएको अध्यक्ष नन्दकिशोर बस्नेतले बताए । पटकपटक ध्यानाकर्षण गराउँदा र सम्झौताबमोजिम काम गर्न प्रशस्त समय दिइए पनि काम नभएको उनको आरोप छ ।
'सम्झौताबमोजिम काम नहुनुका बारेमा स्पष्टीकरणसमेत लिई त्यसउपर चित्त नबुझेकाले नियमानुसार जग्गा फिर्ता गरिएको हो,' अध्यक्ष बस्नेतले भने, 'उद्देश्यअनुरूप काम नभए बाँकी जग्गा र संरचना पनि फिर्ता लिने प्रक्रिया सुरु गर्नेछु ।' ६ सय ७० रोपनी जग्गामा फैलिएको बालाजु औद्योगिक क्षेत्रमा करिब १ सय ४० उद्योग छन् । धेरैतिरबाट विभिन्न प्रलोभन र दबाब आए पनि आफू कम्पनीसँग जग्गा फिर्ता लिने काममा सफल भएको बस्नेतले दाबी गरे । चलचित्र विकास कम्पनीले २०७१ भदौ २७ गते ४० वर्षका लागि लिजमा लिएको थियो ।
नयाँ पत्रिका दैनिकले लेखेको समाचार अनुसार २०७२ भदौदेखि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रका जग्गाको भाडा बढाएपछि चलचित्र विकास कम्पनीले संरचना निर्माण अवधिसम्मका लागि भाडा मिनाहा गरिदिन पत्राचारसमेत गरेको थियो । जग्गा फिर्ता लिने प्रक्रिया सुरु भएपछि त्यसलाई अलमल्याउन यस प्रकारको पत्राचार गरेको बस्नेतको दाबी छ । पहिले प्रतिरोपनी वार्षिक भाडा १४ हजार ३ सय ९८ रुपैयाँ रहेकोमा भदौदेखि गैरउत्पादनमूलक उद्योगका लागि न्यूनतम २५ हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्म तोकिएको छ ।
कम्पनी गैरउत्पादनमूलक उद्योगमा पर्छ । सञ्चार संस्थान ऐन २०२८ अनुसार शाही नेपाली चलचित्र संस्थानको नामबाट २०२८ सालमा कम्पनीको स्थापना भएको थियो । संस्थानको पहिलो अध्यक्ष यादव खरेल थिए । निजीकरणपछि कम्पनीले अहिले काम नै नगरेको भन्दै खरेल पनि आक्रोशित छन् । संस्थान २०५० सालमा निजीकरणपछि कम्पनीमा रूपान्तरण भएको थियो ।
सुरुमा अरुण मल्लले व्यवस्थापन सम्हालेको कम्पनी ०६४ सालपछि गोपीकृष्ण मुभिजका प्रोप्र्राटर उद्धव पौडेलले सञ्चालन गर्न थाले । हाल कम्पनीको अध्यक्ष निकिता पौडेल छिन् । सञ्चालकमा उज्ज्वल पौडेल, निरज पौडेल, निरक पौडेल र सिर्जना शाह छन् । ६ हजार ४ सय ९ जना सेयरधनी रहेको सो कम्पनीको ८.९२ प्रतिशत सेयर सरकारको छ ।
यसैबीच चलचित्र विकास कम्पनीकी अध्यक्ष निकिता पौडेलले कम्पनीले ४० वर्षका लागि लिजमा लिइसकेको जग्गा फिर्ता हुन नसक्ने दाबी गरेकी छिन् । उनले भनिन्, ‘हामी ठूलो योजनासहित परियोजना निर्माण गर्दै छौँ । यसमा धेरैजनाको आँखा लागेकाले विभिन्न षड्यन्त्र बुनिएको हो ।’ यस्ता षड्यन्त्रलाई चिरेर अघि बढ्ने उनको भनाइ छ ।

