सफलताका साथ प्रदर्शनरत फिल्म 'क्लासिक'को निर्माण युनिट तथा कलाकारसहितको टिम देश दौडाहामा निस्केको छ । निर्माता सुबास गिरीले लिड अभिनेता आर्यन सिग्देललाई लिएर पुर्बी नेपालको बिर्तामोडबाट मोफसल यात्रा सुरु गरेका हुन् ।
काठमाडौं तथा मोफसलमा दर्शकको उत्साहजनक साथ पाएको फिल्म निर्माण युनिट र कलाकारहरु सहितको टिमले दर्शकसँग प्रत्यक्ष रुपमा भेट गरी आत्मियता साट्न तथा सँगै बसेर फिल्म हेरी प्रतिक्रिया लिनको लागी मोफसल यात्रा सुरु गरेको हो । 'क्लासिक' टिम बिर्तामोड, दमक, ईटहरी, धरान, हेटौँडा हुँदै नारायणगढ आउनेछ ।
नारायणगढमा निर्माता र अभिनेता आर्यन सहितको टिमसँग निर्देशक दिनेश राउत र अभिनेत्री नम्रता श्रेष्ठ उपस्थित भएर चितवने दर्शकसँगै फिल्म हेर्नेछन् अनि प्रतिक्रिया लिनेछन् । त्यसपश्चात क्लासिक टिमले बुटवलहुँदै पोखरा पुगेर मोफसल यात्रा सकाउनेछ ।
बक्सअफिसमा हिट भईसकेको फिल्म करोड क्लबमा प्रवेश गरिसकेको छ । पहिलो हप्तामा पाएको दर्शकको साथ तुलनात्मक रुपमा दोश्रो हप्तामा पनि पाउने आशामा निर्माण युनिट छ । दृष्टिबिहिनहरुको प्रेम कथा बोलेको फिल्ममा आर्यन र नम्रता लिड रोलमा छन् ।

