गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'क्लासिक'ले सोमबारसम्मको बिजनेशमा करोड क्लबको आँकडा पार गरेको छ । निर्माता सुबास गिरीले यो कुराको पुष्टी गरेका छन् । तर उनले १ करोड बढी कति बिजनेस पुगेको छ भन्ने चाहिँ खुलाएनन् ।
'सोमबार सम्मको ग्रस बिजनेसमा क्लासिकले १ करोडको आँकडा पार गरेको छ, तर ठिक विवरण यही बिहिबार मात्र प्रेस रिलिज मार्फत सार्वजनिक गर्ने तयारीमा छौं', गिरीले फिल्मीखबरसँग भने । फिल्मप्रति मल्टिप्लेक्सदेखि सिंगल थिएटरसम्म मिलेको दर्शकको साथ र समर्थनबाट उत्साहित निर्माता गिरीले राम्रा अनि दर्शकको मनोभावना बुझ्ने फिल्म बन्दै गर्दा कोही निर्माताले पनि धोका नपाउने कुरा 'क्लासिक'ले प्रमाणित गरेको बताए ।
दिनेश राउतको निर्देशनमा तयार यो फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठ लिड रोलमा छन् । फिल्मले दृष्टीबिहिनहरुको प्रेमकथालाई उठान गरको छ । शनिबार तथा आईतबार देशव्यापी रुपमा हाउसफुल बिजनेश गरेको यो फिल्मले चुनौतीपुर्ण विषय उठान गर्दा पनि दर्शकमाझ फिल्मलाई चिनाउँदै गर्दा व्यापारिक रुपमा पनि सफल रहने कुरा प्रमाणित गरेको छ ।

