शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘क्लासिक’ र ‘प्रेमगीत’को लागि प्रणय दिवस सुखद बन्यो । पर्वको रुपमा आएको प्रेम दिवसले माया नगरीमा प्रदर्शनमा आएका फिल्मको बिजनेसलाई ठूलो राहत दिएको छ । फिल्म हलमा प्रदर्शनरत दुबै फिल्मले आइतबार कतै शनिबार जत्तिकै त कतै त्यो भन्दा राम्रो बिजनेश गरेको स्रोतको दाबी छ ।
तीन दिनको बिजनेशमा फिल्म ‘प्रेमगीत’ करोड क्लबमा प्रवेश गरेको रिपोर्ट आएको छ । आईतबार हरेकजसो हलमा दर्शकको चाप उच्च हुँदा बिजनेशमा पनि छलाङ देखिएको हो । फिल्मले आज मात्रै ५० लाख बढीको बिजनेश गरेको फिल्मीखबरलाई प्राप्त रिपोर्टमा उल्लेख छ । निर्माता सन्तोष सेनले फिल्मीखबरलाई दिएको जानकारी अनुसार सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ले आईतबारमात्रै ५३ लाखको बिजनेश गरेको छ ।
दर्शकबाट उच्च ‘वर्ड अथ माउथ’ बटुलेको यो फिल्मले काठमाडौंबाट १८ लाख र मोफसलबाट ३५ लाखको बिजनेश गरेको निर्माताले पठाएको रिपोर्टमा उल्ल्लेख छ । निर्माता तथा बितरकबाट प्राप्त बिजनेशलाई आधार मान्दा प्रदिप खड्का र पूजा शर्मा अभिनित ‘प्रेमगीत’ले तीन दिनमा १ करोड २२ लखको ग्रस बिजनेश गरेको देखिन्छ ।
उता प्रतिस्पर्धि फिल्म ‘क्लासिक’को भने पूर्ण आएको छैन । वितरक मनोज राठीले सोमबार बिहान मात्रै एकिन विवरण आउने बताए । फिल्मीखबरसँगको टेलिफोन संवादमा उनले‘बिजनेस राम्रो छ’ भन्दै सोमबार बिहान मात्र विस्तृत विवरण सार्वजनिक गर्ने बताएका छन् । एकैदिन प्रदर्शनमा आएको अर्को फिल्म ‘चलेछ बतास सुस्तरी’ले भने आजसम्म आफ्नो कमाई सर्वाजनिक गरेको छैन ।

