मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यसरी तुहिएको थियो कोईरालाको हिरो बन्ने सपना

बैकुण्ठ पराजुली, काठमाडौं, 2016/02/09
जोसिलो युवा अबस्थामा राजनीति हैन कलाकारितामा लाग्छु अनि फिल्मको हिरो बन्छु भनेर लागेका पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति सुशील कोईराला हामीमाझ रहेनन् । तर कोईरालाले संसार छाडेर जाँदै गर्दा उनले आफ्नो राजनीतिक करियरमा गरेका काम अनि ताकेका लक्ष्यहरु भने बिर्सिन हुँदैन् । 
 
कोईराला परिवारका धेरै सदस्यहरु राजनीतिमा लागेको भएपनि युवा अवस्थाका सुरुवाती दिनमा सुशील कोईराला फिल्मको नायक बनेर नाम कमाउने सोच राख्ने गरेको उनले यसअघी नै बताउँदै आएका थिए । हिरो बन्न चाहना बोकेका कोईरालाले त्यसका लागि प्रारम्भिक तयारी पनि गरिसकेका थिए रे । जसको लागी उनले भारतबाट नृत्य र फोटोग्राफी सम्बन्धी प्रशिक्षण पनि लिईसकेका थिए भनिन्छ । उनी ‘हिरो’ बन्ने सपना पूरा गर्न हलिउडतिर हानिने अन्तिम तयारीमा थिए र त्यसको लागी अमेरिकाको भिसा समेत आइसकेको थियो ।
 
तर, तत्कालिन अवस्थामा २०१७ सालको पुस १ गतेको दिनमा तत्कालिन राजा महेन्द्रले ‘कू’ गरेपछि सुशीलको सपनामाथि पनि बज्रपात भयो । राजनीतिक परिर्वतनसँगै तत्कालीन सरकारले उनलाई विदेश जान समेत प्रतिबन्ध लगायो । जुन प्रतिबन्ध नै आफ्नो करियर नै फिल्म क्षेत्रमा लगाएर हलिउडको हिरो बनेर चिनिन्छु भन्ने सपना बोकेको एक युवकको सपना अनि चाहना माथी तुषारापात बनेर आयो ।
 
हिरो बन्न तम्तयार बनेका कोईराला त्यो घटनापछि राजनीतिमा सक्रिय हुनुपर्ने ठानेर एकाएक नेपाली कांग्रेसको राजनीतिमा होमिए । सुशीललाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिना ढिलो मात्रै ‘कू’ गरेको भए पनि सुशील अमेरिका पुगिसकेका हुन्थे र सम्भवतः यतिबेला हलिउडमा जमिरहेका हुन्थे भन्ने गर्छन् ।
 
सायद फिल्म लाईनमा लागेको भए उनी आजको दिनसम्म कुनै कुनै रुपमा भिन्न पहिचानका साथ कलाकारको रुपमा चिनिने थिए होला, तर देशको सेवा गर्छु भनेर निरन्तर लागिरहेका त्यागी नेताको अनि निष्ठावान नेताको छबी बनाएका कोईराला देश र जनता होईन् यो संसार बाटै बिदा लिएर अस्ताएका छन् ।
 
हुन त पछिल्लो पटक देशको कार्यकारिणी पदमा समेत पुगिसकेका तथा एक नम्बरको प्रजातान्त्रिक पार्टीलाई हांकिसकेका कोईरालाले संविधान निर्माण जस्तो ऐतिहासिक कामको नेतृत्व लिएका उनलाई फिल्मको हिरो बन्न नपाएकोमा पश्चाताप नभएको थियो होला । 
 
त्यसो त उनी देशको प्रधानमन्त्री पदमा हुँदा समेत फिल्म उद्योगको पक्षमा समेत केहि राम्रा काम भए । राष्ट्रिय चलचित्र नीति पारित गर्नेदेखी चलचित्र विकास वोर्डमा गैर चलचित्रकर्मी नियुक्तीको परम्परालाई समेत अन्त्य गरेका कोईरालाले नेपाली फिल्म र यो उद्योगको श्रीबृद्धीको लागी सधैँ चासो व्यक्त गर्थे अनि सक्दो साथ र सहयोग गर्ने प्रतिबद्धता पनि जनाउँथे ।
 
राजनीतिमा लाग्नेहरु सबैले सबैको चित्त अनि मनोभावना पुरा गर्न सक्दैनन् । त्यसैले उनी पनि कहिँ कतै आलोचनाका पात्र पनि बने । तर जीवनभर अबिबाहित, एक निष्ठावान राष्ट्रप्रेमी नेता कोईरालाले राष्ट्रिय राजनीतिलाई दिशा दिन खेलेको ऐतिहासिक भूमिकालाई बिर्सिन हुन्न । पुनः एकपटक हार्दिक श्रद्धाञ्जली 'सुशीलदा' ।
 
यस्तो देखियो नेता कार्यकर्ताले कोईरालालाई अन्तिम श्रद्धाञ्जली दिँदाको दशरथ रंगशालाको दृश्यः