अवार्ड गर्ने लिस्टमा चलचित्र कलाकार संघ पनि थपिएको छ । संघको बुधबार बसेको कार्यसमितिले अर्को सालबाट नियमित अवार्ड गर्ने जानकारी गराएको हो । महासचिव सरिता लामिछानेले बैठकको निर्णयबारे जानकारी गराएकी हुन् ।सरिताले निष्पक्ष अवार्डको खाँचो रहेको महसुस गर्दै संघले अवार्ड गर्ने निर्णय गरेको बताइन् ।
‘धेरै देशमा कलाकार संघले अवार्ड गर्ने र त्यस्ता अवार्डको महत्व रहने गरेको पायौं । नेपालमा पनि यसको आवश्यकता महसुस गरेर अवार्ड गर्ने निर्णय गरेका हौं,’ सरिताले भनिन् । बैठकले अवार्ड तयारीका लागि ५ सदस्यीय समितिको पनि नाम छनोट गरेको छ ।
जसअनुसार अवार्डको तयारीका लागि कृष्ण मल्ल संयोजक रहेको कार्यसमिति गठन गरिएको हो । जसमा प्रकाश सुवेदी सह संयोजक रहेका छन् भने नन्दिता केसी, देवीराम पराजुली र सुनिल कटुवाल सदस्य रहेका छन् ।संघले आउँदो फागुन ८मा पिकनिकको आयोजना गर्ने पनि जनाएको छ ।

