निर्देशक राजु गिरी यसपटक फिल्म चलाउनका लागि गीत संगीतलाई मुख्य हतियार बनाउने सुरमा छन् । उनले निर्देशन गरेको फिल्म विन्दास ३ माघ २२ गतेबाट चल्दैछ । फिल्मकी अभिनेत्री शुभेच्छा थापाको तस्बिरका कारण अहिले चर्चा त भयो तर नकारात्मक । यसले फिल्मलाई घाटा पुर्याउँछ कि भन्ने सोच पनि राजुको छ ।
यसैले राजु अहिले फिल्ममा समावेश एक गीतलाई प्रमोशन गर्न अघि सरेका छन् । ‘कसले देख्यो र अप्सरालाई’ बोलको गीत चर्चित भैसकेको छ । यो गीतको शब्द, संगीत र स्वर उत्कृष्ट छ । यसअगाडि पनि फिल्म विन्दास र विन्दास २लाई राजुले गीतकै कारण उचाइ पाएका थिए । तर, उनले सेक्सलाई पनि बेच्ने कोशिश गरे ।
विन्दास ३ मा भने आफू कथावस्तु र गीतसंगीतमा नै भर परेको राजु बताउँछन् । युटुबमा ३५ हजार बढीले यो गीत हेरिसकेकोमा उनी दंग पनि छन् । शुभेच्छा थापा, मनिष कार्की, अशोक फुयाँल फिल्मका मुख्य कलाकार हुन् । अर्जुन पोख्रेलले फिल्ममा संगीत दिएका छन् ।

