गुरुङ भाषा तथा सँस्कारमा बन्ने फिल्मलाई सम्मान, प्रोत्साहन र मुल्याङ्कन गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक फागुन १४ र १५ गते ‘गुरुङ फिल्म अवार्ड’ हुने भएको छ । ग्ल्यामर सम्बन्धि वेभसाईट ‘जक्शन डटकम’ संचालन गर्दै आएको ‘जक्शन ग्रुप’ले अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो ।

चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा बुधबार पोखरामा भएको पत्रकार सम्मेलनमा जक्शन ग्रुपले अवार्ड कार्यक्रमको बारेमा जानकारी दिएको हो । ‘नेपालमै पहिलो पटक हुन लागेको गुरुङ फिल्म अवार्डका लागि कुल ४६ वटा फिल्महरुबीच प्रतिस्पर्धा हुनेछ', पत्रकार सम्मेलनमा अवार्ड कार्यक्रमका सँयोजक तथा जक्शन गु्रपका प्रमुख कार्यकारी अधिकृत भुपालकुमार गुरुङले भने–‘अवार्ड कार्यक्रम पोखरा ग्राण्ड होटलमा दुई दिनसम्म हुनेछ ।’
अवार्डका लागि आएका फिल्महरुमध्ये २०६१ बैशाख १ देखि ६५ चैत मसान्त सम्मको पहिलो कालखण्ड र २०६६ बैशाख १ देखि ७० मसान्तसम्म दोस्रो कालखण्ड भनेर छुट्टाईएको छ । गुरुङ भाषा र गुरुङ सँस्कारमा बनेको नेपालीभाषी फिल्मलाई छुट्टाछुट्टै अवार्डका लागि छानिएको उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पहिलो कालखण्ड अन्तरगत गुरुङ मातृभाषी फिल्महरुलाई १७ वटा विधामा अवार्ड वितरण गरिनेछ । त्यसमध्ये दुईवटा फिल्मले विशेष अवार्ड प्राप्त गर्नेछन् । सोहि कालखण्ड अन्तरगत नेपाली भाषाका गुरुङ फिल्महरुलाई १४ वटा विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । नेपाली भाषी अर्न्तगत एउटा फिल्मलाई विशेष अवार्ड वितरण गरिनेछ ।
त्यस्तै दोस्रो कालखण्ड अन्तरगत मातृभाषी फिल्मलाई दुई विशेष फिल्म अवार्ड सहित १९ वटा विधामा र नेपाली भाषी गुरुङ फिल्मलाई १ विशेष फिल्म सहित १६ वटा विधामा अवार्ड वितरण गरिनेछ । त्यसैगरि दोस्रो कालखण्ड मध्येका मातृभाषी र नेपाली भाषी दुवै शिर्षकका फिल्महरुबाट चर्चित फिल्म, चर्चित अभिनेता र चर्चित अभिनेत्री समेत गरि कुल ६९ वटा विधामा अवार्ड वितरण गरिनेछ ।
अवार्डका लागि आएका फिल्महरुलाई यतिबेला निर्णायक मण्डलले अवलोकन गरिरहेको आयोजकले बताएका छन् । मातृभाषी र नेपाली भाषाको गुरुङ फिल्मलाई छान्ने गरि १० जनाको निर्णायक मण्डल बनाईएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । विभिन्न विधामा अवार्ड वितरणका लागि उत्कृष्ट एक छान्ने सर्वाधिकार निर्णायक मण्डमा निहित रहेको छ । तर अवार्ड कार्यक्रम अन्तरगत चर्चित फिल्म, अभिनेता र अभिनेत्री छनौट प्रकृयामा भने सम्पूर्ण रुपमा एसएमएस भोटिङ र लाईभ भोटिङबाट निर्णय लिईने संयोजक भुपालकुमार गुरुङले बताए । त्यसका लागि माघ ७ गते भोटिङ कोड सार्वजनिक गरिने आयोजकले बताएको छ ।
प्रितम गुरुङलाई लाईफटाईम एचिभमेन्ट अवार्ड
पहिलोपटक हुन लागेको गुरुङ फिल्म अवार्ड अन्तरगत लाईफटाईम एचिभमेन्ट अवार्ड प्रितम गुरुङले पाउने भएका छन् । लामो समय यता निरन्तर रुपमा गुरुङ फिल्म निर्देशन, निर्माणसँगै अभिनय समेत गरेर उनले पुर्याएको योगदानको कदर गर्दै यो अवार्ड वितरण गर्न लागेको आयोजक जक्शन ग्रुपले जनाएको छ ।
२०५२ सालमा पहिलोपटक गुरुङ फिल्म निर्माण तथा निर्देशन गरेका प्रितमले हालसम्म ४९ वटा फिल्ममा निर्देशक, निर्माता तथा अभिनेताको रुपमा काम गरिसकेका छन् ।

