चैत्र २६ गते नेपाली फिल्मका चर्चित ब्यानरको भिडन्त हुँदैछ । यो भिडन्तमा चलेका निर्माता मात्रा हैन कलाकार पनि छन् । अभिनेत्री रेखा थापा, प्रियंका कार्की, शिल्पा पोख्रेल यो भिडन्तमा सहभागी हुँदैछन् । कसको स्टारडम कति बलियो, चैत्र २६ को भिडन्तले देखाउनेछ ।
तर, ब्यानर र अभिनेत्री मात्र होइन, नयाँ अनुहारको भिडन्त पनि यही दिनमा हुँदैछ भन्ने कमैलाई मात्र थाहा होला । यो दिनमा फिल्म 'नाई नभन्नु ल ४'बाट उदाउन लागेका ३ कलाकार पल शाह, बर्षा राउत र आँचल शर्मा आफ्नो भाग्य चम्काउने दाऊमा त छन् नै अन्य स्टार र नयाँ कलाकारसँग भिडन्त पनि गर्दैछन् ।
यही मितिमा प्रदर्शनमा आउने अर्को फिल्म 'रामप्यारी'बाट आभाष अधिकारी उदाउँदैछन् । आभाष नेपाली फिल्म नगरिका लागि नयाँ अनुहार हुन्, जसले फिल्म सफलताको क्रेडिट लिनसक्छन् । तर, मोडल पल शाहसँगको भिडन्त उनका लागि त्यती सजिलो छैन ।
यही मितिमा अर्का वाघ निर्माता छविराज ओझाको फिल्म पनि लाग्दैछ । छविको 'किस्मत २'बाट नयाँ कलाकार पृथ्वीराज प्रसाई उदाउँदैछन् । चर्चित ब्यानर उनका लागि फाइदा हुनसक्छ भने अन्य प्रतिस्पर्धाले उनलाई केही अप्ठ्यारो पनि पार्न सक्छ ।

