‘लुट’ फिल्मका हाकु काले उर्फ सौगात मल्ल, त्यसयता दर्जनौं फिल्ममा देखिए । दुर्भाग्य भनौं या बिडम्बना उनका कमै फिल्म सफल फिल्मको सुचीमा पर्छन् । ‘लुट’ले कमाल गरेर पर्दामा हिट हाकुले त्यसपश्चात अहिलेसम्म पनि क्रेडिट पाउने गरी हिट फिल्म दिन सकेका छैनन् । फिल्म चल्दा पनि उनी छायाँमा परे अनि नचल्दा पनि कति ठाउँमा दोष नै पाए ।
‘लुट’ पछि व्यवसायिक हिट फिल्म उनको यो बर्ष रिलिज ‘कबड्डी कबड्डी’ नै हो । निश्चल बस्नेतले कबड्डीबाट सुम्पेको भूमिकालाई न्याय गर्दै सिक्वेलमा देखिएका उनको अभिनयको चर्चा कमै भयो । सिक्वेलकै कारण, निर्देशक रामबाबुकै कारण, दयाहाङ राईकै कारण, बुद्धी तामाङ् (हैट) र बिजय बरालकै कारण फिल्म चल्यो भनेर स्विकार्ने सबैछन् तर सौगातलाई यो फिल्म चल्दा क्रेडिट दिन कोही तयार देखिएनन् ।
पछिल्लो रिलिज ‘फन्को’मा उनको अभिनय प्रशंसा गर्न लायक छ । यो फिल्मका निर्माताले पैसो राम्रै कमाएको समाचार मिडियामा लेखाईसके । फिल्मको पनि चर्चा राम्रै छ तर ‘फन्को’का भक्ती थापाले न त फिल्मबाट जस पाएका छन, नत उनको अभिनयको कहिँ कतै चर्चा छ । बरु दयाहाङ राईकै अभिनयलाई मन पराउने र नपराउने दर्शक बाँडिएर चर्चा गरिरहेका छन् । त्यसो त सौगात मिडियामा पनि खासै आउन चाहन्नन् ।
अन्तर्वार्ता दिन होस् या कुनै कार्यक्रममा पुग्दा होस् सकेसम्म बोल्नै नपरे हुन्थ्यो भन्ने सौगातको यो कमजोरी पनि उनी छायाँमा पर्नुको कारण हुनसक्छ । ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भने झैं यहाँ जो बढि हल्लीखल्ली गर्छ उसको धेरै चर्चा हुन्छ, नत्र सबै सौगातकै लाईनमा पर्नसक्छन् । काम राम्रो गरे पनि जस नपाउने तथा चर्चा नपाउँदा यस्ता पात्रहरु छायाँमा परेको भान धेरैमा पर्नसक्छ ।

