अभिनेता जीवन लुईंटेल अभिनित पछिल्ला धेरै फिल्म फ्लप भए । लगातार प्रदर्शनमा आउँदा पनि उनका आधा दर्जन बराबर फिल्मले २०७१ भरी राम्रो बिजनेश गर्न सकेनन् । लगानी उठाएको भनिएको 'भूलभूलैया' फिल्म बाहेकको बिजनेश असफल हुँदा यो बर्ष रिलिज फिल्ममा पनि हबिगत उस्तै भयो । तर पछिल्लो रिलिज फिल्मले भने उनलाई केहि राहत दिएको छ । फिल्म 'काफल पाक्यो'मा समावेश जीवनको कमेडी अभिनय अहिले चर्चामा छ ।
औसत बिजनेशका साथ हलहरुमा प्रदर्शनरत यो फिल्ममा जीवन अन्य सबै फिल्ममा भन्दा भिन्न अभिनयमा छन् । पहिलो पटक यो प्रकारको कमेडी भूमिकामा पर्दामा आएका जीवन गाउँले परिवेशको 'विष्णुप्रसाद आचार्य' पात्रको रुपमा आउँदा उनको चर्चा चुलिएको छ । मल्टिप्लेक्सदेखी सिंगल स्कृनमा समेत फिल्म हेर्ने दर्शकले जीवनको अभिनयको खुलेर तारिफ गरेका छन् । लामो समयपछि दर्शकलाई फरक स्वाद पस्किन सफल भएकोमा उनको सफलता समेत मानिएको छ ।
फिल्मको बिजनेशबाट ठुलोपर्दाकी डेब्यू निर्देशक साबित्री खत्री सन्तुष्ट छिन् । दर्शकले दिएको मायाले उत्साहित छु, तथा स्टार अभिनेता जीवन लुईंटेलको करियरमा अर्को राम्रो फिल्मको छाप छाड्न सफल भएकोमा गर्ब लागेको छ, उनले सुनाईन् ।
फिल्ममा जीवनको अपोजिटमा रहेकी बर्षा राउतको बोल्ड अभिनय पनि सम्झिन लाएक छ । धेरै फिल्ममा प्रेम कहानीको आसपास रहने र गुण्डालाई ढलाउने जीवनको 'काफल पाक्यो'को कमेडी अभिनयलाई उनको सफलताको संकेत नै मान्न सकिन्छ । दर्शकलाई हलमा रहुञ्जेल सन्तुष्टी प्रदान गरेकोमा जीवन तारिफका पात्र बनेका छन् ।

