तीन फिल्म त्यो पनि चर्चै चर्चाका फिल्म भिड्ने मिति हो माघ २९ । यो मितिमा भिड्दै गरेका ‘प्रेमगीत’, ‘क्लासिक’ र ‘चलेछ बतास सुस्तरी’लाई लिएर निर्माता निर्देशकदेखि कलाकारहरु अहिले प्रचारमा ब्यस्त छन् । पहिलो हुने तथा दर्शक आफ्नो पक्षमा पार्ने दाउमा उल्लेखित फिल्मसँग सम्बद्ध सबै लागिपरेको पाईन्छ ।
त्यसो र कलाकारको रुपमा पनि यो मिति प्रतिष्ठाको लडाईं बन्ने निश्चित छ । ‘क्लासिक’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठ लिड रोलमा छन् । आर्यनले तथा नम्रताले पहिलो पटक दृष्टिबिहिनको रुपमा अभिनय गरेको यो फिल्मबाट दुबैको अपेक्षा छ । उता ‘प्रेमगीत’लाई लिएर अभिनेता प्रदिप खड्का तथा अभिनेत्री पूजा शर्मा पनि उत्तिकै उत्साहित छिन् । प्रदिपले यसअघि दुई फिल्म गरिसके ‘स्केप’ र ‘ठूलो मान्छ’े । यसै गरी पूजाले भने चार फिल्म गरिसकेकी छिन् ।
तर यी दुबै कलाकारले ‘प्रेमगीत’ फिल्म ऐतिहासिक भन्दै यो फिल्मलाई नै डेब्यू फिल्मको रुपमा लिएको बताएका छन् । बिहीबार अभिनेत्री सुष्मा कार्कीले पनि ‘चलेछ बतास सुस्तरी’लाई आफ्नो डेब्यु फिल्म भन्दिइन् । जबकी सुष्माका आधा दर्जन भन्दा बढी फिल्म रिलिज भईसकेका छन् । बिहिबार आयोजित कार्यक्रममा शुष्माले फिल्ममा निकै राम्रो काम भएको तथा फिल्म निकै उत्कृष्ट बनेको भन्दै आफ्नो करियरको डेब्यु फिल्मको रुपमा यो फिल्मलाई लिएको बताइन्् ।
प्रदिप, पूजा र सुष्मा भावावेशमा बोलिरहेका छन् कि उनीहरु डेब्युको ‘डेफिनेशन’ नै परिवर्तन गर्न लागिपरेका छन् त्यो उनीहरु नै जानून् तर उनीहरुको डेब्यु हुन्छ वा डम्फु बज्छ माघ २९मा देखिहाल्छ ।

